Logo
१३ बैशाख २०८१, बिहीबार
(June 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधानले दिएको जिम्मेवारीअनुसार लोकसेवाले काम गर्नुपर्छ : राष्ट्रपति

काठमााडौं : वि.सं २००८ असार १ गते लोकसेवा आयोगको स्थापना भएको थियो । उक्त दिवसको सम्झनामा आयोगले हरेक साल असार १ गते स्थापना दिवस मनाउँदै आईरहेको छ । सोहि दिवसको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताएकी छिन् ।

लोकसेवा आयोगको ६९ औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै राष्ट्रपतिले आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वासलाई अझ समुन्नत बनाएर काम गर्नुपर्ने बताएकी हुन् । उनले भनिन् ‘परीक्षा प्रणालीको सुधार तथा नवीनतम् प्रविधिको उपयोग गरी योग्य र सक्षम व्यक्ति सार्वजनिक सेवामा प्रवेश गर्नेप्रति म विश्वस्त छु, परीक्षा प्रणालीलाई समयसापेक्ष बनाउँदै लैजानुपर्छ ।’

उनले आयोगले योग्यता, निष्पक्षता र स्वच्छतालाई ध्यानमा राखेर आफ्ना कार्यलाई शुरुमै सार्वजनिक गरी काम गर्नु सफलताको कडी भएको विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले संवैधानिक जिम्मेवारी पाएको आयोगको काम कारवाहीलाई थप मजबुत बनाउन सरकार र सम्बद्ध सबैले सहयोग गर्ने विश्वास लिएको बताइन् ।

‘आयोगले जनताको विश्वास जितेर परीक्षा सञ्चालन गरिरहेको छ, जनविश्वास पनि त्यहीअनुरुप कामय गरिरहेको छ, भविष्यमा थप जनविश्वासका काम गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्दछु’, उनले भनिन् । सरकारले न्याय र समानतामा आधारित शोषणरहित समृद्ध नेपाल निर्माण गर्ने ऐतिहासिक दायित्व बहन गर्नुपर्ने अवस्थामा आयोगले सार्वजनिक प्रशासनलाई स्वच्छ, सुदृढ र जवाफदेवी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत आफूले लिएको उनले धारणा व्यक्त गरिन् ।

वि.सं २००८ असार १ गते आयोगको स्थापना भएको थियो । आयोग एक विशिष्टीकृत संवैधानिक निकाय हो । आयोगमा अध्यक्षसमेत गरी पाँच पदाधिकारी रहने व्यवस्था छ ।

प्रकाशित मिति: Jun 16, 2019

प्रतिक्रिया दिनुहोस्