Logo
११ बैशाख २०८१, मंगलबार
(June 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अत्याधिक गर्मीका कारण महोत्तरीमा धमाधम विद्यालय बन्द गरिँदै

महोत्तरी :  ह्वात्तै बढेको गर्मीका कारण महोत्तरीमा विद्यालयहरु एकाएक बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

जिल्लामा पछिल्लो केही दिनयता प्रचण्ड घामको राप बढेको छ जसले गर्दा गर्मीको रापले सामान्य हिँडडुल पनि सकस बनेको छ । बर्दिवासको भोलावसन्तचोकमा जडित तापमापन सूचना केन्द्रले हिजो शनिबार दिउँसो ३ बजे ४३ डिग्री सेल्सियस तापक्रम देखाएको थियो ।

जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी गरेको छ । “बढ्दै गएको घामको रापले स-साना बालबालिका विद्यालयमै आलसतालस पर्न थाले”, सोनमा गाउँपालिका अध्यक्ष राजकुमार यादवले भने, “यसले स्वास्थ्य समस्या बढाउन सक्ने हुनाले गाउँपालिकाभित्रका सबै विद्यालय ६ दिन बन्द गर्ने निर्णय गर्यौँ ।”

त्यस लगत्तै जिल्लाको अरु गाउँपालिकाजस्तै मनराशिशवा र बलवा नगरपालिकाले पनि आजैदेखि ६ दिन विद्यालय बन्द गरिने जनाएका छन् । बिहान सूर्य उदयदेखि साँझ अस्तसम्म एकटङ्कारको घामको राप बढेकाले विद्यालय बन्द लागिएको मनराशिशवा नगरपालिकाका प्रमुख सञ्जयकुमार सिंहले बताए ।

जिल्लाका अन्य स्थानीय तहले पनि आजदेखि नै विद्यालय बन्द गरिनेबारे छलफल गर्नेे जनाएका छन् । मौसममा सुधार नआए आजदेखि नै विद्यालय बन्द गर्नेे मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । जिल्लाका १० नगरपालिका र ५ गाउँपालिकासहित १५ स्थानीय तहले गर्मी छल्न केही दिन विद्यालय बन्द गर्ने तयारी गरेका छन् ।

गर्मीले गर्दा हाटबजार र कार्यालयमा पनि चहलपहल देखिँदैन । गर्मीका कारण महोत्तरीका हाटबजारमा सर्वसाधारणको आवागमन निकै घटेको छ । प्रचण्ड घामको रापले विद्यालय पढ्न जाने स-साना नानी, वृद्धवृद्धा र कडा शारीरिक श्रम गर्ने मजदुर मारमा परेका छन् ।

प्रकाशित मिति: Jun 16, 2019

प्रतिक्रिया दिनुहोस्