Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शैशिक सत्रको बित्यो २ महिना तर पाएनन् धनुषाका सामुदायिक विद्यालयले पाठ्यपुस्तकको रकम

जनकपुरधाम : प्रदेश २ स्थित सामुदायिक विद्यालयहरुले अझै पनि पाठ्यपुस्तकबापतको रकम पाउन सकेको छैन । शैक्षिक सत्रको २ महिना बित्न लाग्दा पनि धनुषाको हंसपुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयले अझै पाठ्यपुस्तकबापतको रकम पाउन नसकेको हो ।

रकम अझै निकासा गर्न आनाकानी गरे आन्दोलनमा उत्रने शिक्षकहरुले चेतावनी समेत दिएका छन् । पाठ्यपुस्तकको रकम नपाएको शिक्षकहरूले गुनासो गरेका हुन् । रकम पछि दिने आश्वासन नगरपालिकाले दिएपछि विद्यालयले उधारोमा पाठ्यपुस्तक खरिद गरी विद्यार्थीलाई बाँडेका थिए ।

तर, उधोरो रकम तिर्न नसक्दा पुस्तक पसलका संचालकहरूले ताकेता गर्दागर्दै शिक्षकलाई हैरान पारेको नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामसिनेही यादवले गुनासो गरे । उनले भने– ’नगरपालिकामा पटकपटक ताकेता गर्दा पनि वास्ता गरेको छैन।’

उनका अनुसार ०७५ चैत मसान्तमै पाठ्यपुस्तक खरिदको लागि नगरपालिकाले रकम पठाउनुपर्ने थियो। तर, जेठ बित्न लाग्दा पनि रकम निकासा नगरपालिकाले गरेको छैन ।

नगरप्रमुख रामज्ञान मण्डलको कमजोरीले हामी शिक्षकहरू बदनाम बनिरहेको एक शिक्षकले गुनासो गरे । उनका अनुसार नगरले विगत तीन महिनादेखि तलब भत्तासमेत उपलब्ध गराएको छैन ।

नगरप्रमुख मण्डलले कार्यकारी अधिकृत नहुँदा विद्यालयमा रकम पठाउन ढिलो भएको जानकारी दिए । उनले शिक्षक आफूसमक्ष पनि ज्ञापनपत्र बुझाएको भन्दै असार पहिलो साता रकम सबै विद्यालयमा पठाइसक्ने प्रतिबद्धता जनाए। उनले भने, ‘रकम नपठाउने मनशाय छैन । हामी शिक्षा क्षेत्रप्रति गम्भीर छौं ।’

नगरप्रमुख मण्डललाई रकम निकासाका लागि पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि शिक्षकले प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापन–पत्र बुझाएका छन् ।

रकम निकासा गराउन पहल गरिदिन ज्ञापनपत्र बुझाएको संघका अध्यक्ष यादवले बताए । उक्त नगरपालिकामा ६ माध्यमिकसहित ३२ वटा सामुदायिक विद्यालय रहेका छन् ।

कुनै विद्यालयले पाठ्यपुस्तक बापतको रकम पाएको छैन। नगरपालिकाले पाठ्यपुस्तकबापत करिब ३२ लाख रुपैया भुक्तानी गर्नुपर्ने शिक्षक बताउँछन् ।

प्रकाशित मिति: Jun 14, 2019

प्रतिक्रिया दिनुहोस्