Logo
१३ बैशाख २०८१, बिहीबार
(June 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव कार्यकर्ता पक्राउ प्रकरण : अदालत छोड्ने, तर पुन: पक्राउको लागि प्रहरी कुरेर बस्ने

पोखरा : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका १८ जना कार्यकर्तामध्ये ९ जना उच्च अदालत पोखराको आदेशले बिहीबार रिहा भएका छन् ।

गत शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पक्राउ परेका उक्त समूहका १८ जना कार्यकर्तामध्ये ९ जना उच्च अदालत पोखराको आदेशले बिहीबार रिहा भएको हो । तर, रिहा भए पनि उनीहरु घर जान पाएनन ्। प्रहरीहरु उनीहरुलाई पुनः पक्राउ गर्न अदालत परिसरबाहिर कुरेर बसेका थिए ।

त्यसैले मध्यरातसम्म उनीहरु उच्च अदालत बारको भवनमा बसिरहे । तर, प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई डाँडाको नाक प्रहरी चौकीमा पु¥याएको छ । नियन्त्रणमा लिन कास्की प्रहरीले पाँच वटा भ्यान र प्रहरी तैनाथ गरेको थियो ।

उच्च अदालतमा रहेको बार भवनमा छिर्ने बेलामा विद्यार्थी नेता मिलन राईले भने, ‘अदालतले छोड्ने, प्रहरी घेरा हालेर पक्राउ गर्न बस्दा हामीलाई मानसिक तनाब दिने काम भएको छ ।’ कानुन विपरीत पक्राउ गरेको भन्दै पक्राउ पर्ने मध्येकै जंगबहादुर भण्डारीको तर्फबाट पृथ्वीराज भण्डारीले सोमबार बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए।

सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश जगतप्रसाद श्रेष्ठको इजालसले पक्राउ परेकाहरुलाई अदालतमा उपस्थिति गराउन आदेश थिए। सोही अनुसार तेजबहादुर कार्की र सुवास पौडेलको संयुक्त इजालसले रिहा गर्न आदेश दिएको थियो । र, उच्च अदालतका रजिस्ट्रार जितेन्द्र थपलियाको रोहबरमा नौ जना रिहा भएका हुन् ।

अदालतमा उपस्थित भएकाबाहेक नौ जनालाई जिल्ला प्रहरी कार्यालयमै राखेर सार्वजनिक अपराधको मुद्दा दायर गरिएको छ । उनीहरुको म्याद थप समेत भइसकेको छ । कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले भने सुरक्षाको गतिविधिलाई ध्यानमा राखेर उनीहरुलाई नियन्त्रणमा लिइएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति: Jun 14, 2019

प्रतिक्रिया दिनुहोस्