Logo
११ बैशाख २०८१, मंगलबार
(June 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेल चढेर प्रधानमन्त्री ओली फ्रान्स जाँदै, कामचलाउ प्रधानमन्त्री र राजकुमारसँगको भेटमै बेलायत यात्रा सीमित

लण्डनबाट रेल चढेर प्रधानमन्त्री केपी शर्मा ओली आज फ्रान्स जाँदैछन् भने राजकुमार ह्यारी र कामचलाउ प्रधानमन्त्रीसँगको भेटमै बेलायत यात्रा सीमित भएको छ ।

संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर बुधबार दिउँसो मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा जाँदै छन् ।

प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीसँग संयुक्त अधिराज्यका एशिया प्रशान्त मामिला हेर्ने राज्यमन्त्री मार्ट फिल्डले लण्डनस्थित नेपाली दूतावासमा आजै शिष्टाचार भेटवार्ता गर्नेछन् ।

यसैगरी प्रधानमन्त्री ओलीसँग बेलायतको इन्टरनेशनल मेरिटाइम अर्गनाइजेशनका महासचिव, विश्व ऊर्जा परिषद्का वरिष्ठ अधिकारी, एडिनबर्ग रोयल बोटानिकल गार्डेन र वनस्पति विभागका प्रमुखले आजै दिउँसो शिष्टाचार भेट गर्दै छन् ।

प्रधानमन्त्री ओली आजै आफ्नो स्वागतमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले दूतावासमा आयोजना गर्ने समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।

उत्तराधिकारीलाई अवगत गराउने

ब्रिटिस सेनामा आवद्ध नेपालीलाई बेलायती समकक्षी सरह सेवासुविधा, तलव र अवकाशपछिको पेन्सन लगायतमा समानताका लागि आवश्यक पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आग्रहलाई बेलायतकाे कामचलाउ प्रधानमन्त्रीकाे हैसियतमा रहेकी टेरिजा मेले नयाँ आउने उत्तराधिकारीलाई अवगत गराउने बताएकी छिन्।

बीबीसी नेपाली सेवाका अनुसार उनले वर्षौदेखि विवादका रुपमा रहेको उक्त विषयलाई प्रधानमन्त्री ओलीले उठाए पनि हालै आफ्नो पदबाट राजीनामा दिएकी प्रधानमन्त्री मेले त्यसबारे कुनै स्पष्ट आश्वासन नदिई आफ्ना उत्तराधिकारीलाई जानकारी दिने आश्वासन मात्रै दिएकी हुन्।

टेरिजा मेले २४ मेमा सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेता पदबाट राजीनामा दिएकी थिइन्। अब केही सातापछि सत्तारूढ दलका नेता बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछन्।

नेपालले पटक-पटक राखेको केही मागलाई सम्बाेधन गरेकोमा प्रधामन्त्री ओलीले बेलायतलाई धन्यवाद दिएपनि उक्त विषयमा मेले कुनै पनि आश्वासन दिन सकिनन्।

भूतपूर्व गोर्खा सैनिकहरूले आफूले पाउँदै आएको सेवासुविधामा बेलायतले विभेद गरेको र त्यो सम्बोधन नभए पुनः आन्दोलन थाल्ने चेतावनी दिँदै आएका छन्।

नेपालमा श्रेष्ठता र त्यसका आधारमा राजतन्त्र स्वीकार गर्न नसकिने अडान लिँदै आएका ओलीले बेलायतमा भने ब्रिटिस जनता र राजमुकुटप्रति गोरखालीहरुको सेवालाई ख्याल गर्दै उनीहरुको मागप्रति ध्यान दिन मेसँग आग्रह गरेका थिए।

सन् १९४७ मा ब्रिटेन, भारत तथा नेपालबीच भएको त्रिपक्षीय सन्धी यता परिस्थिति निकै बदलिइसकेकाले त्यसको पुनरावलोकन गर्नुपर्ने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्वीटमार्फत जानकारी दिएका छन्।

त्यस्तै जन्मका आधारमा राजतन्त्र अस्वीकार गर्ने अडान नेपालमा पटक–पटक लिइरहेका ओलीले महारानी एलिजावेथ द्वितियपछि चौथो उत्तराधिकारी प्रिन्स ह्यारीसँग पनि भेट गरेका छन्।

प्रधानमन्त्री ओली बुधबार नै बेलायतबाट फ्रान्सतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायती प्रधानमन्त्री टेरेसा मे प्रधानमन्त्री निवास १० डाउनिङ स्ट्रिटमा मङगलबार स्वागत गर्दै । तस्वीर : रासस/एपी
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायती राजकुमार ह्यारीले मङगलबार केन्सिङटन दरवारमा भेट गर्दै । साथमा प्रधानमन्त्री पत्नी राधिका शाक्य । तस्वीर : रासस/एपी

प्रकाशित मिति: Jun 12, 2019

प्रतिक्रिया दिनुहोस्