Logo
७ बैशाख २०८१, शुक्रबार
(June 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालबालिकालाई पढाइदिने भन्दै जम्मा पार्ने र बाल यौन दुराचार गर्ने युएनका पूर्व कर्मचारी दोषी ठहर

जिल्ला अदालत काभ्रेपलान्चोकले बाल यौन दुराचार गर्ने युएनका पूर्व कर्मचारीलाई दोषी ठहर गरेको छ। जिल्ला अदालतले ६० वर्षीय क्यानडियन नागरिक पिटर जोन डालगिल्सलाई सोमबार दोषी ठहर गरेको हो।

विपन्न परिवारका बालबालिकालाई पढाइदिने भन्दै आश्वासन देखाएर जम्मा पार्ने र उनीहरूमाथि यौन शोषण गर्ने गरेको आरोप उनीमाथि लागेको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले डालगिल्सलाई काभ्रेको मण्डन देउपुर नगरपालिकास्थित चिलकाजी महर्जनको घरबाट पक्राउ गरेको थियो।

जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले युएनका पूर्व कर्मचारीसमेत रहेका डालगिल्सलाई बाल यौन दुराचारमा कसुरदार ठहर गरेको हो।

प्रहरीले उनलाई २०७४ चैत २५ गते बाल यौन दुराचार गरेको अभियोगमा पक्राउ गरेको थियो। डालगिल्सले हिमालयन कम्युनिटी फाउन्डेसन नामक संस्था खोली २ वर्षयता नेपालमा पटकपटक आउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

पक्राउ परेका डालगिल्सको साथबाट २ जना बालकको उद्धार गरिएको थियो। डालगिल्सले सन् २०१० देखि २०१४ सम्म सयुक्त राष्ट्रसंघमा काम गरेका थिए।

उनी विरुद्ध काभ्रे जिल्ला अदालतमा २०७५ वैशाख १९ गते मुद्दा दायर भएको थियो। जिल्ला अदालतले डालगिल्सलाई कति सजाय हुने भन्ने बारेमा फैसला पछि सुनाउनेछ। मुलुकी संहिता अनुसार उनलाई दोषी ठहर मात्र गरेको हो।

डालगिल्सले नेपालमा हिमालयन कम्युनिटी फाउण्डेसन नामक संस्था खोलेर शिक्षा र खानेपानी क्षेत्रमा काम गर्दै आएका थिए। डालगिल्स नेपाल आउनुभन्दा अगावै बाल यौन दुराचारीमा लागेको सूचना प्रहरीले पाएको थियो।

उक्त सूचना पाएको २ सातापछि नेपाल आएका डालगिल्सलाई प्रहरीले पिछा गरेर पक्राउ गरेको थियो। डालगिल्सले १५ जनाभन्दा बालकलाई यस्तो धन्दामा लगाएको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।

बाल यौन दुराचारी आरोपमा पक्राउ परेका डालगिल्स द्वन्द्वपीडित बालबालिका, कामदार बालबालिका तथा सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै ३ वटा मानार्थ विद्यावारिधि समेत प्राप्त गरेका व्यक्ति भएको खुलेको छ।

डालगिल्सलाई जिल्ला अदालत काभ्रेले बालयौन दुराचारमा मुद्दा ११ महिनापछि दोषी ठहर गरेको हो।

 

प्रकाशित मिति: Jun 11, 2019

प्रतिक्रिया दिनुहोस्