Logo
१३ बैशाख २०८१, बिहीबार
(June 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप किकेटमा भारतको सहज जित, अस्ट्रेलिया ३६ रनले पराजित

भारतले इङ्ल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा रोमाञ्चक जित हात पारेको छ । आइतबार राति भएको खेलमा भारतले साविक विजेता अस्ट्रेलियालाई ३६ रनले हरायो । भारतको यो लगातार दोस्रो जित हो ।

दी ओभल क्रिकेट मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा भारतको जितमा शिखर धवनको शतक तथा कप्तान विराट कोहली र रोहित शर्माको अर्धशतक महत्वपूर्ण बनेको थियो ।

भारतले दिएको ३ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा ३ सय १६ रन बनाएको थियो । अस्ट्रेलियाका लागि स्टेभन स्मिथ र प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले अर्धशसतीय इनिङ खेले । स्मिथले ६९ र वार्नरले ५६ रन बनाए । एलेक्स क्यारीले अविजित ५५, उस्मान ख्वाजाले ४२, कप्तान एरोन फिन्चले ३६ र ग्लेन म्याक्सवेलले २८ रन बनाए ।

भारतका जसप्रीत बुमराह र भुवनेश्वर कुमारले ३- ३ विकेट लिए । युजभेन्द्र चाहलले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५२ रन बनाएको थियो । भारतका लागि शिखर धवनले शतक तथा रोहित शर्मा र कप्तान विराट कोहलीले अर्धशतक बनाए ।

प्रारम्भिक ब्याट्सम्यान धवनले १ सय १७ रन बनाए । एकदिवसीय क्रिकेटमा धवनको यो १७औं शतक हो । यसैगरी विराटले ८२ र रोहितले ५७ रन बनाए । हार्दिक पाण्ड्याले ४८, महेन्द्रसिंह धोनीले २७ र लोकेश राहुलले ११ रन बनाए । अस्ट्रेलियाका मार्कस स्टोइनिक्सले २ विकेट लिए । प्याट कुमिन्स, मिचेल स्टार्क र नाथन कल्टर नाइलले १-१ विकेट लिएका थिए ।

लगातार दोस्रो जित हात पारेको भारतले यसअघिको खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो । तीन खेल खेलेको अस्ट्रेलियाको यो पहिलो हार हो । अस्ट्रेलियाले यसअघि अफगानिस्तानलाई ७ विकेट र वेस्ट इन्डिजलाई १५ रनले हराएको थियो ।

प्रकाशित मिति: Jun 10, 2019

प्रतिक्रिया दिनुहोस्