Logo
१३ बैशाख २०८१, बिहीबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय सरकारहरुमा आर्थिक अपचलनको गुनासोबीच त्रियुगा नगरपालिकाले ३० पत्रकारलाई बाँड्यो ल्यापटप

स्थानीय सरकारहरुमा आर्थिक अपचलनको गुनासो बढिरहेका बेला उदयपुरको त्रियुगा नगरपालिकाले ‘प्रविधि हस्तान्तरण’ भन्दै पत्रकारलाई ल्यापटप वितरण गरेको छ ।

एक कार्यक्रमको आयोजना गरी उदयपुरको गाइघाटलाई केन्द्र बनाएर पत्रकारिता गर्दै आएका ३० पत्रकारहरुलाई एक/एक थान ल्यापटप बाँडिएको हो ।

मेयर बलदेव चौधरीले पत्रकारलाई ल्यापटप हस्तान्तरण गरेका थिए । सत्य, तथ्य र निष्पक्ष समाचार लेखन कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले पत्रकारलाई ल्यापटप वितरण गरिएको नगरपालिकाले जनाएको छ । उक्त ल्यापटपको मूल्य ४५ हजार रुपैयाँ रहेको छ ।

प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत नगरपालिकाले १२ लाख रुपैयाँ चालु आर्थिक वर्षका लागि विनियोजन गरेको थियो । यसपटक ल्यापटप नपाउने पत्रकारलाई अर्को वर्ष वितरण गरिने नगरपालिकाले बताएको छ ।

नगरपालिकाका सूचना अधिकारी विश्वजित राईले स्थानीय पत्रकार प्रवर्द्धन कार्यक्रममार्फत ल्यापटप वितरण गरिएको जानकारी दिए । ‘पत्रकार साथीहरुको मागसमेतलाई ध्यान दिँदै ३० वटा ल्यापटप वितरण गरिएको छ,’ सूचना अधिकारी राईले भने, ‘पत्रकारको वृत्ति विकासका लागि यो कार्यक्रम राखिएको यो, यसलाई निरन्तरता दिने नगरको योजना छ ।’

उनका अनुसार पत्रकार कौशल चेम्जोङ संयोजकको संयोजकत्वमा एक समिति बनाएर ल्यापटप वितरणका लागि पत्रकारको नाम छनोट गरिएको थियो ।

नेपाल पत्रकार महासंघ, उदयपुर शाखाका अध्यक्ष भरत खड्काले स्थानीय पत्रपत्रिका तथा रेडियो आर्थिक रुपमा धरासायी भएको भन्दै नगरले सहयोग गरेको बताए । वितरण गरिएको एउटा ल्यापटप आफ्नो भागमा पनि परेको उनले खुशी व्यक्त गरे ।

‘विराटनगरले त पत्रकारलाई पैसा नै बाँड्ने गरेको सुनेको छु, ल्यापटप बाँड्नुलाई नकारात्मक रुपमा लिन आवश्यक छैन,’ भने । महासंघले ल्यापटप माग भने नगरेको अध्यक्ष खड्काको दावी छ ।

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्