Logo
७ बैशाख २०८१, शुक्रबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र भारत भिड्दै

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज साँझ ९आइतबार० साविक विजेता अस्ट्रेलिया र भारत भिड्दै छन् । दी ओभल स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुने यस खेल निकै रोचक हुनेछ ।

विश्वभरका क्रिकेट पारखीलाई यो खेलले भरपूर मनोरञ्जन दिने अपेक्षा पनि गरिएको छ । विश्वकप उपाधि दाबेदार दुवै टोली पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका छन् ।

साविक विजेता अस्ट्रेलिया सबै खेलमा जित निकाल्दै फाइनल यात्रा तय गर्ने दाउमा छ । भारतको योजना पनि उस्तै छ । विश्वकपमा अस्ट्रेलियाले २ खेल खेलिसकेको छ । अस्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा भने अस्ट्रेलियाले वेस्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो । भारतले भने एक खेल खेलेको छ । भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

साबिक विजेता अस्ट्रेलियाले हालसम्म ५ पटक विश्वकपको उपाधि जितिसकेको छ । अस्ट्रेलियाले सन् १९८७ मा पहिलो पटक विश्वकप जितेको थियो । त्यसपछि अस्ट्रेलियाले सन् १९९९, सन् २००३ र सन् २००७ मा लगातार ३ पटक विश्वकपको उपाधि उचाल्यो । सन् २०१५ मा आफ्नै देशमा आयोजना भएको विश्वकपको फाइनलमा सहआयोजक न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै अस्ट्रेलियाले ५औँ पटक उपाधि कुम्ल्याएको थियो । त्यसैले विश्वकपमा अस्ट्रेलिया सबैभन्दा बलियो टोलीको रूपमा देखिएको छ । एरोन फिन्चको कप्तानीमा रहेको अस्ट्रेलियामा चर्चित र अनुभवी खेलाडी छन् ।

यसैगरी २ पटक विश्वकपको उपाधि चुमेको भारत विश्व क्रिकेटको बलियो टोली हो । भारतले सन् १९८३ र सन् २०११ को विश्वकप उपाधि जितेको थियो । सन् २००३ को विश्वकपको फाइनलमा भने भारतीय टोली अस्ट्रेलियासँग पराजित भएको थियो । विराट कोहलीको कप्तानीमा रहेको भारतीय टोलीमा स्टार र अनुभवी खेलाडीको जमघट छ । सन् २०११ मा भारतले विश्वकप जित्दाका कप्तान महेन्द्रसिंह धोनी अहिले पनि टोलीका प्रभावशाली खेलाडीका रूपमा छन् ।

भारत र अस्ट्रेलियाबीच यसअघि भएको भिडन्तमा अस्ट्रेलिया बलियो देखिएको छ । यसअघिका विश्वकपमा दुई टोली ११ पटक भिडेका छन् । त्यसमा अस्ट्रेलियाले ८ र भारतले ३ खेल जितेको छ ।

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्