Logo
१२ बैशाख २०८१, बुधबार
(June 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय विदेशमन्त्री एस जयशंकर भन्छन् ‘सार्कमा समस्या, बिमस्टेकमा उर्जा’

नयाँ दिल्ली : भारतका विदेशमन्त्री एस जयशंकरले ‘सार्कमा कैयौं समस्या रहेको बताएका छन् । आफू विदेशमन्त्री भएपछिको पहिलो सार्वजनिक मन्तव्यका क्रममा उनले भनेका छन्,‘‘सार्कमा कैयौं समस्या छन् । यो सबैलाई थाहा छ । सार्कमा कनेक्टिभिटिलाई लिएर पनि गडबड छ । जबकी बिमस्टेकमा उर्जा र सम्भावना रहेको छ ।’’

उनले आतंकवादको बाहिर गएर कुरा गर्दा पनि सार्कले देशहरुलाई अझ टाढा पार्दै लगेको समेत जनाएका छन् । उनले पहिलो सार्वजनिक मन्तव्यका क्रममा नै पाकिस्तानतर्फ निशाना साँधेको पाइएको छ ।

उनी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमलाई विहीबार सम्बोधन गर्दे थिए । जानकारहरुका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सार्कको सट्टामा बिमस्टेक देशलाई बोलाउनुको कारण पनि पाकिस्तानलाई अलग्याउने रणनीतिको एक हिस्सा थियो ।

छिमेकी देशसँगको सम्बन्धका बारेमा जयशंकरले भने, ‘‘छिमेकी देशलाई सहयोग गर्ने भारतको जिम्बेवारी हो । दक्षिण एशियाली देशमा भारत सबैभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुक हो । ’’

भारतीय उद्योग परिसंघ (सीआइैआई)को विहीबार आयोजित एक कार्यक्रममा उनले भने,‘‘आज विदेशमा रहेका भारतीयलाई सरकारले मद्यत गर्ने अपेक्षा रहेको छ । यसले गर्दा विदेश मन्त्रालयको छबीलाई निकै बदलेको छ ।’’

यसैबीच विदेशमन्त्री जयशंकरले बिहिबार चाइनिज कम्युनिष्ट पार्टीका नेताहरुसंग समेत भेटवार्ता गरेका छन् । विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले टवीट्र मार्फत उक्त जानकारी दिएका छन् ।

प्रकाशित मिति: Jun 7, 2019

प्रतिक्रिया दिनुहोस्