Logo
७ बैशाख २०८१, शुक्रबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीसँग भेटेर फर्किए प्रधानमन्त्री ओली, तर एयरपोर्टमा गरेनन् पत्रकार भेटघाट

समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा भाग लिन बिहीबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि काठमाडौं आइपुगेका छन्।

ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलसहितका उच्च सरकारी अधिकारी पुगेका थिए। तर बिगतमा झै स्वदेश फर्केपछि एयरपोर्टमा यसपटक ओलीले पत्रकारसँग भेटघाट गरेनन् ।

दुईदिने भारत भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । तर, उनी नेपाल एयरलाइन्सबाट विमानस्थलमा उत्रिएलगत्तै पत्रकारसँग कुनै प्रतिक्रिया नै नदिई विमनस्थलबाट बाहिरिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथग्रहण समारोहमा सहभागी हुन बिहीबार नयाँदिल्ली पुगेका उनी शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।

मोदीको सपथग्रहणको भोलिपल्ट दुवै नेताबीच हैदरावाद हाउसमा भेटवार्ता भएको थियो । विमानबाट उत्रिएर सलामी ग्रहण गरेलगत्तै उनी मन्त्री र सरकारी अधिकारीसहित विमानस्थलबाट केही नबोली बाहिरिएका हुन् ।

उता दुवै नेताबीच भएको भेटवार्तामा द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने प्रतिबद्धता व्यक्त भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

मोदीले दोस्रो कार्यकालको सपथ लिएर ५८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरिसकेका छन्। दिल्लीमा रहँदा ओलीले शुक्रबार दिउँसो करिब आधा घण्टा समकक्षी मोदीसँग भेटवार्ता गरेका छन् ।

त्यसक्रममा उनले मोदीलाई रुद्राक्षको माला उपहार दिँदै नेपाल भ्रमणका लागि बोलाएका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारका अनुसार दुई नेताबीचको भेटमा सदियौँदेखि देश र जनताबीचको सम्बन्धलाई अझै मजबुत बनाउन सहमति भएको छ ।

प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्रसचिव शंकरदास बैरागी र परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख यज्ञ हमाल दिल्लीतर्फ गएका थिए।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्