Logo
१२ बैशाख २०८१, बुधबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सावधान ! बढ्दो इनर्जी ड्रिङ्क्सको प्रयोगले बढाउन सक्छ ब्लड प्रेसरको खतरा

इनर्जी डिङ्क्स (शक्तिवद्र्धक पेय) को प्रयोग पछिल्लो समय विश्वव्यापी रुपमा बढेको छ । विशेषगरी खेलाडीहरुले प्रयोग गर्ने यस्तो पदार्थ अचेल जोकोहीले पिएको देख्न सकिन्छ । नेपालमा पनि यसको प्रयोग निकै बढेको छ ।

नेपालमा यस्ता पेय विभिन्न मुलुकबाट आयात हुँदै आएको छ । मानव स्वास्थ्यका लागि यस्ता पेय कत्तिको लाभदायी छन् ? के यस्ता पेयले साँच्चै नै शक्ति दिन्छन् ? इनर्जी डिङ्क्सको प्रयोग बढेसँगै यस्ता प्रश्न पनि उठ्दै आएका छन् ।

इनर्जी डिङ्क्स पिएको केही समयमा मानिसलाई स्फूर्ति वृद्धि भएको महसुस हुन्छ, तर यसको अधिक सेवनले स्वास्थ्यमा प्रतिकूल असर पनि पार्छ । इनर्जी डिङ्क्सको नियमित तथा अधिक सेवनले ब्लड प्रेसर बढ्न सक्ने, मुटुमा इलेक्ट्रिकल डिस्टर्बेन्स हुन सक्ने र मुटुसँग सम्बन्धित रोगको खतरा हुन सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

हालै गरिएको एक अध्ययनले के देखाएको छ भने, कम समयको अन्तरालमा तपाईंले ९४६ मिलिलिटर इनर्जी डिङ्क्स पिउनुभयो भने तपाईंको ब्लड प्रेसर बढ्छ । यसले तपाईंको मुटुमा इलेक्ट्रिकल डिस्टर्बेन्स गरिदिन्छ, नतिजामा मुटको लयमा नकारात्मक असर पर्न जान्छ । अनुसन्धानकर्ताहरुले १८ देखि ४० वर्षभित्रका ३४ जना स्वस्थ मानिसमाथि यो अध्ययन गरेका थिए ।

अध्ययनका क्रममा ३४ जनालाई तीन दिनसम्म बजारमा पाइने भिन्नभिन्न दुईथरिका ९४६ मिलि ‘क्याफिनेटेड इनर्जी ड्रिङ्क्स’ पिउन दिइएको थियो । तिनले एक घण्टाको बीचमा उक्त पेय पिएका थिए । पिइसकेपछि उनीहरुको ईसीजी (इलेक्ट्रोकार्डियोग्राम) गरिएको थियो । साथमा तिनको ब्लडप्रेसर पनि नापिएको थियो । निरन्तर ४ घण्टासम्म तिनको स्वास्थ्य जाँच गरिएको थियो ।

अनुसन्धान गरिएका व्यक्तिले पिएको इनर्जी ड्रिङ्क्समा ३०४ देखि ३२० मिलिग्राम क्याफिन पाइएको थियो । यसको नतिजा अमेरिकन हार्ट एसोसिएसन नामको जर्नलमा प्रकाशित गरिएको थियो । अनुसन्धानको मुख्य निष्कर्ष के थियो भने, मुटुरोग भएका विरामीको हकमा इनर्जी ड्रिङ्क्सले नकारात्मक असर पार्न सक्छ । स्वस्थ मानिसले पनि यसको अधिक उपयोग गर्दा असर नकारात्मक हुन सक्छ ।

नेपाली बजारमा उपलब्ध विभिन्नखाले इनर्जी ड्रिङ्क्सको विश्वसनीयता र त्यसको उपयोगबारे कतिपयलाई जानकारी छैन । कति परिमाणसम्म कति समयको फरकमा र कस्तो स्वास्थ्यअवस्थाका मानिसले पिउनुहुन्छ या हुँदैन भन्ने कुरा पनि कतै उल्लेख हुँदैन । यसकारण पनि इनर्जी ड्रिङ्क्स पिउँदा ध्यान दिनु जरुरी देखिएको छ ।

(नवभारत टाइम्समा आधारित)

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्