Logo
१५ चैत्र २०८०, बिहीबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२५ वर्षदेखिको सत्ताबाट पवन चाम्लिङको औपचारिक विदाइ, रोए ‘समर्थक’

छिमेकी देश भारत स्थित सिक्किममा २५ वर्षसम्म एकछत्र सत्तामा रहेका पवन चाम्लिङले आजदेखि औपचारिक रुपमा सत्ता छोडेका छन् । चाम्लिङ्गले आज एक कार्यक्रम गरी समर्थकहरुको उपस्थितिमा सत्ताबाट बाहिरिएको जानकारी गराएका छन् ।

२५ वर्षपछि मिन्तोकगाङबाट बाहिरिंदा चाम्लिङ भावुक देखिएका छन् । बोलीमा भावुकता सुनिए पनि अनुहार भने हँसिलो देखिन्थ्यो । सरकारी निवासबाट विदा लिंदै गर्दा चाम्लिङलाई सुरक्षाकर्मीले सलामी दिएको छ । कार्यकर्ताले चाम्लिङको समर्थनमा नारा लगाए भने उनका धेरै समर्थकका आँखाबाट आँशु बगिरहेको देखिन्थ्यो ।

विधानसभामा एक सिटको फरकले २५ वर्ष लामो शासन उल्टिएपछि मुख्यमन्त्री पवन चाम्लिङले आइतबार बिहान राजधानी गान्तोकस्थित सरकारी निवास मिन्तोकगाङ छाडेका छन् । ३२ सदस्यीय विधान परिषदमा १७ सिटमा विजयी भएर सिक्किम क्रान्तिकारी मोर्चाले चाम्लिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) लाई १५ सिटमा सीमित गरेपछि एक सिटको अन्तरमा चाम्लिङले सत्ता गुमाएका थिए ।

आफ्नो पार्टी अल्पमतमा परेपछि विपक्षमा बस्ने घोषणासहित चाम्लिङले शुक्रबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । यद्यपि नयाँ सरकार गठन नभएसम्म उनी कामचलाउ मुख्यमन्त्री रहने छन् । सन् १९९४ को १२ डिसेम्बरका दिन भारतको नेपाली भाषी राज्य सिक्किमका पाँचौं मुख्यमन्त्रीका रूपमा शपथ लिएयता उनी निरन्तर पाँच कार्यकाल मुख्यमन्त्री रहे ।

सन् १९९४ को १४ डिसेम्बरमा राजधानी गान्तोकस्थित मुख्यमन्त्रीको सरकारी निवास मिन्तोकगाङ छिरेका उनी २५ वर्षपछि आज आइतबार त्यहाँबाट बाहिरिएका हुन् । आइतबारदेखि चाम्लिङ दक्षिण सिक्किमको नाम्चीस्थित घुर्पिसेमा रहेको आफ्नो निजी निवासमा बस्ने छन् । चाम्लिङको पार्टी एसडीएफका कार्यकर्ताले ‘पवन चाम्लिङ जिन्दावाद’ नारा लगाउँदै कार र्‍याली गरी उनलाई नाम्चीसम्म पुर्‍याएका छन् ।

मिन्तोकगाङ छोड्नुअघि पत्रकारहरूलाई सम्बोधन गर्दै चाम्लिङले ‘सिक्किमेली जनताले एसडीएफलाई पूर्ण रूपले खारेज नगरेको’ बताएका छन् । ‘जनमतको सम्मान गर्दै यसपालिको चुनाव प्रतिफललाई म आन्तरिक हृदयबाट स्वीकार गर्छु’, चाम्लिङले भने, ‘जनताले एसकेएम पार्टीलाई विजयी बनाएर सत्ता सुम्पेका छन् ।’ उनले थपे, ‘सत्तासिन भएकोमा एसकेएम पार्टीका नेता एवं सबै विधायकहरूलाई हार्दिक बधाई दिन चाहन्छु ।’

एसडीएफलाई सिक्किमेली जनताले खारेज गरेको होइन, भूमिका मात्र परिवर्तन गरिदिएको चाम्लिङको भनाइ थियो । ‘हामीलाई जनताले विपक्षीको जुन भूमिकामा राखेका छन्, त्यसलाई जिम्मेवारीपूर्वक निर्वाह गर्नेछौं’, चाम्लिङले भने, ‘एसडीएफले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ ।’

साथै उनले सिक्किमेली जनताले आफुलाई (२५ वर्षसम्म) चयन गरेकोमा बधाई पनि दिए । सन् १९९४ मा नरबहादुर भण्डारीको १४ वर्षे शासनलाई उल्टाएर पवन चाम्लिङ सिक्किमका पाँचौं मुख्यमन्त्री बनेका थिए ।

त्यसबेला चाम्लिङको पार्टी एसडीएफले ३२ मध्ये १९ सिट जितेको थियो। त्यसपछि १९९९ मा २५ सिट, २००४ मा ३१ सिट, २००९ मा ३२ सिट र २०१४ मा २२ सिट जितेर चाम्लिङ लगातार मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्