Logo
१३ बैशाख २०८१, बिहीबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँचथर हत्याकाण्ड साता नपुग्दै दार्चुलामा दम्पतीको वीभत्स हत्या

काठमाडौं : पाँचथरको मिक्लाजुङमा वीभत्स घटना भएको साता नपुग्दै दार्चुलामा दम्पतीको हत्या भएको छ ।

महाकाली नगरपालिका-३ काटैमा पसल सञ्चालन गर्दै ६५ वर्षीया द्रोपती महरा र उनको पति ७५ वर्षीय वीरभान महराको शनिबार मध्यरातमा हत्या भएको हो । महरा दम्पतीको लठ्ठी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरीले जनाएको छ । आक्रमणबाट नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते छन् । द्रोपतीको शव पसलभित्र मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक रविन्द्र कठायतले बताए । वीरभानको भने जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

टाउकोबाट अत्यधिक चोट र रगत बगेको कारण उनको मृत्यु भएको हो । ‘सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने उद्देश्यअनुरुप घटना भएको देखिन्छ’ , महाकाली नगरपालिका-३ का वडाध्यक्ष पदमसिंह महराले बताए । सुनका गहना र पैसाको लागि हत्या गरेको हुनसक्ने महराको अनुमान छ ।

गाउँभन्दा टाढा पसल भएका कारण राति भएको बासिन्दाले घटना बिहान मात्रै थाहा पाएका थिए । घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन । घटनास्थलमा खटिनुभएका प्रहरी निरीक्षक कठायतका अनुसार सानोतिनो प्रलोभनमा परेर हत्या गरेको हुन सक्छ । द्रोपतीले झण्डै दुई तोलाबराबरको सुनका मुनाडा, फुली, बुलाकी र तिलहरी लगाएका थिए ।

द्रोपतीले लगाएको सुन घटनास्थलमा भेटिएको छैन भने पसलबाट पनि के कति धनमाल लगियो भन्ने थाहा हुन नसकेको वडाध्यक्ष महराले बताए । घाइते नाति लोकेन्द्रका अनुसार राति १२ बजे घट्ना भएको थियो । अनुहार छोपेर आएको व्यक्तिले शुरुमा बाजे, त्यसपछि बज्यै र आफूमाथि लठ्ठी प्रहार गरेको लोकेन्द्रले प्रहरीलाई दिएको बयानमा बर्ताका छन् ।

‘मान्छे को हो भनेर चिन्न सकेको छैन, मुख पूरै बाँधेको थियो’ नातीको भनाई छ, ‘झोला बोकेर आएको थियो । निरन्तर बाजे, बज्यै कुट्न थालेपछि लडेपछि आफ्नो समेत टाउकोमा हान्यो । म खोला किनारतर्फ भागेर बाँचे ।’ बिहान बृद्धका नातिनी पूजा पसलमा आउँदा बज्यैको मृत्यु भएको तथा बाजे र भाइ घाइते अवस्थामा देखेपछि गाउँलेलाई खबर भएको थियो । ‘‘पसलमा पुग्दा रगताम्य देखियो । त्यसपछि प्रहरीलाई खबर गरेर बाजे र भाइ उपचारको लागि अस्पताल लगिएको ल्याइएको हो’ पूजाले बताईन् ।

‘‘अस्पतालमा ल्याउँदा वीरभानको अवस्था गम्भीर रहेकाले प्रारम्भिक उपचार गराएर बाहिर पठाउन सकिने अवस्था थिएन’ , जिल्ला अस्पताल दार्चुलाका डा गजेन्द्र दुवालले भने, ‘अनेक कोशिस गर्दा पनि उहाँलाई बचाउन सकिएन तर नातिको भने कानमा चोट लागेको भएपनि उपचार हुँदैछ ।’ लोकेन्द्र हुस्कर मावि काटैमा कक्षा ५ मा अध्ययनरत छन् । घट्नाको थप अनुसन्धानको लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक कठायतले जानकारी दिए । पूरै परिवारको हत्या गर्ने गरी भएको घटनाले जिल्लामा त्रास बढेको छ ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्