Logo
८ बैशाख २०८१, शनिबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज कुरा गरेर भोलि नै चिनियाँ रेल ल्याउन कठिन, जेठ १५ देखि तातोपानी नाका खुल्छ : चिनियाँ राजदूत

काठमाडौं : चीनले केरूङबाट काठमाडौं रेल ल्याउन निकै कठिन भएकाले निकै सोचविचार गरेर अघि बढ्नु पर्ने बताएको छ। काठमाडौंस्थित दूतावासमा बिहीबार बिहान भएको मिडिया ब्रिफिङमा राजदूत होउ यानछीले चिनियाँ रेल आज कुरा गरेर भोलि आउने विषय नभएको बताइन्।

राजदूत यानछीले अब उक्त रेलमार्गको सम्भाव्यता अध्ययन पनि चिनियाँ पक्षले नै गर्ने तयारी भइरहेको जानकारी दिइन्। ‘सम्भाव्यता अध्ययनको खर्च चिनियाँ पक्षले व्यहोर्ने गरी छलफल भइरहेको छ,’ यानछीले भनिन्।

‘साँच्चै भन्नुपर्दा यो संसारकै अप्ठेरो ठाउँमा बनाउनु पर्ने रेलमार्ग हो। जसका लागि धेरै वैज्ञानिक अध्ययनहरू गर्नुपर्छ,’ राजदूत यानछीले भनिन्,‘आज कुरा गर्‍यो भोलि रेल आइहाल्ने होइन। सबै कुरा स्टेप बाई स्टेप गर्नुपर्ने भएकाले यस्ता आयोजनामा निकै समय लाग्छ।’

उनले कुनै पनि आयोजना बनाउन पूर्वसम्भाव्यता, सम्भाव्यता, डिजाइन र निर्माणको स्टेप पूरा गर्नुपर्ने बताइन्। ‘अहिले भर्खर पूर्वसम्भाव्यता अध्ययन सकिएको छ। अब यसको सम्भाव्यता अध्ययन गर्नुपर्छ। त्यसका लागि नै निकै ठूलो रकम चाहिन्छ,’ उनले भनिन्।

चिनियाँ कम्पनी फस्ट सर्वे एण्ड डिजाइन इन्स्टिच्युटले गत वर्ष काठमाडौं-केरूङ रेलको पूर्वसम्भाव्यता गरेको थियो। उक्त अध्ययनले रसुवागढीबाट काठमाडौंको टोखासम्म ७२.२५ किलोमिटरको रेलमार्ग बनाउन ९ वर्ष लाग्ने उल्लेख गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीको गत महिना भएको चीन भ्रमण निकै उपलब्धीपूर्ण भएको उल्लेख गर्दै राजदूत यानछीले हिमालय पार बुहआयामिक सम्पर्क सञ्जालमा हस्ताक्षर गरेकाले चिनियाँ रेल काठमाडौं ल्याउने विषयमा दुबै देश एक भए पनि धेरै कुरा टुंगिन बाँकी रहेको बताइन्।

उनले चीन सरकारले रेलमार्ग बनाउन सबै अनुदान दिने विषयमा भने अहिले केही भन्न नसकिने बताइन्। ‘किनकी आयोजना बनाउन कति पैसा लाग्छ भन्ने नै टुंगो छैन, सम्भाव्यता अध्ययनको रिपोर्ट आएपछि कसरी लगानी गर्ने भन्ने छलफल होला,’ उनले भनिन्।

तातोपानी नाका जेठ १५ गते देखि खुल्ने

यसैबीच चार वर्षअघि भूकम्पले बन्द भएको तातोपानी नाका आउने सातादेखि खुल्ने भएको छ। ‘तातोपानी नाकाको पुनर्निर्माण सकिएको छ, अर्को सातादेखि सञ्चालनमा आउँछ,’ यानछीले भनिन्,‘सुरूमा यो नाकामा मालवाहक सवारीसाधन चल्नेछन्।’

उनले चीनतिरको बस्ती भूकम्पपछि निकै जोखिममा रहेकाले सारिएको र अहिले पनि जोखिम कायमै रहेकाले आमनागरिकले भने तत्कालै नाका प्रयोग गर्न नसक्ने स्पष्ट पारिन्।

‘भूकम्पपछिको पुनर्निर्माणमा यो महत्वपूर्ण उपलब्धी हो। तातोपानी नाका पुन: सञ्चालन भएसँगै नेपाल-चीनबीचको व्यापारमा वृद्धि हुनेछ,’ राजदुत यानछीले भनिन्।

उनले नेपाली पक्षले पनि आफ्नोतिर बाटोलगायत पूर्वाधारको राम्ररी मर्मतसम्भार गरेर नाका सञ्चालन गर्ने विश्वास व्यक्त गरिन्।

२०७२ वैशाख १२ को भूकम्पपछि कोदारी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको थियो। त्यसपछि रसुवाको केरूङ नाकाबाटमात्र चीनमा सामान आयात-निर्यात भइरहेको थियो।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्