Logo
१५ चैत्र २०८०, बिहीबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘राजनीतिक सहमति भयो भन्दैमा रेलवे लाइन बनिहाल्छ भन्ने छैन’ : चिनियाँ राजदूत यान्छी

काठमाडौं : रेल ल्याउने कार्यमा चीन सरकार प्रतिबद्ध रहेको चिनियाँ राजदूत हउ यान्छीले बताएकी छन् । बिहीबार काठमाडौंस्थित दूतावासमा पत्रकार सम्मेलन गर्दै नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले चीनले नेपालसम्म रेल मार्ग बनाउन कठिन रहेको बताए पनि रेल ल्याउने कार्यमा चीन सरकार प्रतिबद्ध रहेको बताईन् ।

उनले नेपाल सरकारको तर्फबाट पनि रेल ल्याउने कार्यमा सकारात्मक पहल भइरहेको भन्दै खुसी व्यक्त गरिन् ।

उक्भत पत्रकार सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले भनिन्, ‘राजनीतिक सहमति भयो भन्दैमा भोलि नै रेलवे लाइन बनिहाल्छ भन्ने छैन । यद्यपि रेल नेपालसम्म ल्याउन चिनियाँ सरकार पूरै प्रतिबद्ध छ ।’ क्रस बोर्डर रेलवे लाइन निर्माण भौगोलिक रुपमा धेरै कठिन र धेरै खर्चिलो रहेको उनले बताइन् । यसका लागि अझै विस्तृत र वैज्ञानिक अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।

बिभिन्न चार चरणका काम पूरा गर्नुपर्ने भन्दै उनले अहिले पहिलो चरणको प्रि(फिसिबिलिटीको काम मात्र सकिएको बताइन् । दोस्रो चरणमा फिसिबिलिटी अध्ययन, तेस्रो चरणमा डिजाइन र चौथो तथा अन्तिम चरणमा निर्माणको काम सुरु हुने उनले बताइन् । ‘नेपाल-चीन क्रस बोर्डर रेलवे धेरै महत्वपूर्ण छ । तर, यो धेरै कठिन छ । सहज छैन हामीलाई,’ राजदूत यान्छीले भनिन्, ‘यो लामो समयको प्रोजेक्ट हो । तर, हामी निर्माणका लागि प्रतिबद्ध छौं ।’

यस विषयमा नेपाल सरकार, रेल विभागका अधिकारी र चिनियाँ टोलीबीच छलफल जारी रहेको जानकारी उनले दिइन् । उनले भनिन्, ‘हामीले आफ्नो तर्फबाट तयारी जारी राखेका छौं । नेपालको तर्फबाट विस्तृत तयारी जारी रहोस् ।’ नेपाल-चीन रेलवे निर्माण गर्न खर्च कति लाग्छ र कुन मोडेलमा बन्छ भन्ने कुराको पनि टुंगो नलागेको जानकारी उनले दिइन् ।

त्यस्तैगरि,चिनियाँ राजदूत यान्छीले भूकम्पले क्षति पुर्‍याएको तातोपानी नाका अर्को हप्ता खुल्ने जानकारी दिइन् । ‘धेरै खतरा र चुनौतिको बाबजुद पनि हामीले निर्माण कार्य सकेका छौं । अब अर्को हप्ता तातोपानी नाका खुल्छ,’ उनले भनिन्, ‘यसमा हामीले महत्वपूर्ण प्रगति हासिल गरेका छौं ।’

तातोपानी नाका अर्को हप्ता खुल्ने बताए पनि उनले ठ्याक्कै मिति भने खुलाइनन् । राजदूत यान्छीले चिनियाँ राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमण उपयुक्त समयमा हुने बताइन् ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्