Logo
६ बैशाख २०८१, बिहीबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जालझेल गरि उद्योग स्थापना प्रकरण : प्रिमियर स्टील उद्योग र नविन विद्यालय बिरुद्ध अख्तियारमा उजुरी

दुहवी : प्रदेश नम्बर १ स्थित सुनसरीको दुहवी २ स्थितमा रहेको प्रिमियर स्टील उद्योग र उद्योग छेवमा रहेको नविन शिक्षा आधारभूत विद्यालय बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौंमा उजुरी परेको छ । जालझेल गरि उद्योग स्थापना गरेको र विद्यालय व्यवस्थापन समितिले करोडौ पर्ने जग्गा उद्योगलाइ गलत तरिकाले हस्तान्तरण गरेर भ्रष्टाचार गरेको भन्दै अनुसन्धान गरी कारवाही गरी पाऊ भनि उजुरिमा उल्लेख छ ।

अख्तियारको उजुरि दर्ता नम्वर २५१४२ मा सार्वजनिक सरोकारको भ्रष्टाचारको विषयमा अनुसन्धान गरी भ्रष्टाचारीहरुलाई कारवाही गरी पाउ भनिएको छ । उजुरीमा निवेदकले सुनसरीको दुहवी नगरपालीका वार्ड.नं. २ मा स्थित प्रिमियर स्टील प्रा.लि. नामक उद्योगको स्थापनामा जालझेल गरी प्रारम्भीक वातावरणिय परिक्षण आइइइ समेत गुपचुप गरी गरेको, उद्योगले नेपाल सरकारले खनेको सुनसरी–मोरङ्ग सिंचाइ आयोजनाको करिब ०–८–० (आठ कठ्ठा) जग्गा लगभग ५६,००,००० (अक्षरेपी छपन्न लाख) मूल्यको सरकारी कुलो मिचि फ्याक्टरी निर्माण गरेको, स्थानिय सामुदायिक विद्यालयका नि.वर्तमान व्यवस्थापन समिति र प्रधानाध्यापकले व्यक्तिगत लोभमा परी उक्त फ्याक्ट्रीको लागि करिब ०–६–० कट्ठा जग्गा बाटो प्रयोजनको लागि उपलव्ध गराई चलन चल्तीको मूल्यमा करिब १,००,००,०००÷– (अक्षरेपी एक करोड) राज्यको सम्पत्ति दुरुपयोग गरेको हुनाले उजुरी गर्नु परेको भनिएको छ ।

निम्न विषयमा छानविन गरी कारवाही गरी पाऊ भनिएको छ, कानून प्रतिकुल सार्वजनिक सुनवाई नै नगरी प्रारम्भीक वातावरीणय परिक्षण आइइइ मुल्यांकन गरिएको आधारमा उद्योग संचालन अनुमती प्रदान गरिएको छ । उद्योग विभागले मिति २०७३।८।८ गते प्रिमियर स्टील प्रा.लि. दर्ता प्रमाण पत्र र कम्पनी रजिस्टारको जिल्ला सुनसरीको दुहवी गा.वि.स. वडा नं. ३ को कि.न. १५५ को ३–११–० क्षेत्रफल उल्लेख छ। सोही अनुसारको प्रतिवेदन, सरजमिन, र सिफारिस तयार गरिएको छ।

प्रिमियर स्टील प्रा.लि. संस्थापक संचालक नन्दकिशोर राठीले वातावरण संरक्षण नियमावली, २०५४ को नियम ७ अनुसार प्रारम्भीक वातावरणीय परिक्षण प्रतिवेदन तयार पार्ने प्रयोजनको लागि प्रकाशीत गरिएको १५ दिने सार्वजनिक सुचनामा कार्यालयको मिति २०७३।०४।१७ को कम्पनी दर्ताको प्रमाण पत्र पाउनका लागि दुहबी भलुवा नगरपालिका कार्यालयले मिति २०७३।०७।१० गते जि. सुनसरी दुहबी भलुवा न.पा. वडा नं. ३ घ कि.नं १५५ को ज.वि. ३–११–० जग्गामा स्थापनाका लागी सिफारीस गरी दिएमा कुनै फरक पर्दैन सरजमिन भै आएको हुँदा उक्त सरजमिन पाना थान ४ यसै साथ संलग्न राखी पठाएकोले बिभागको नियमानुसार उद्योग दर्ता गरी दिनहुन व्यहोरा सिफारिस साथ अनुरोध छ भनी पत्र पठाएको थियो ।

प्रथमतः सार्वजनिक सुनवाइको लागी १५ दिने सूचना प्रकाशीत गरे पश्चात सो उपर सार्वजनिक प्रतिक्रियाको लागी न्युनतम १५ दिनको अवधि प्रतिक्षा गर्नु पर्नेमा सो भन्दा अघि नै सिफारीस गर्ने कार्यले निर्धारीत प्रक्रिया प्रतिकुल नगरपालिकाले सिफारीस गरेको छ । त्यतिमात्र न भै उक्त सिफारीस लगायत सम्पुर्ण प्रक्रियामा उक्त उद्योगले आफनो क्षेत्रफल करिब ३ विघाहा भनी उल्लेख गरेकोमा निर्माण गर्दा ७–०५–०७ जग्गामा उद्योग संचालन गरेको पाइएको छ । अर्थात साविकमा भएको क्षेत्रफल नै परिवर्तन भएको र संधियारहरु समेत परिवर्तन भएको कारणले सिफारीस र प्रारम्भिक वातावरणिय परिक्षण मुल्यांकन समेत मान्यता शुन्य भै सकेको उल्लेख छ । यसरी उद्योगको स्थापना, सिफारिस, निर्णय र सरजमिन भन्दा बढी भएको अवस्थामा कानूनी प्रक्रिया नै पुरा नगरी उद्योग संचालन गर्न दिने कार्य कानून प्रतिकुल रहेको भनिएको छ ।

प्रिमियर स्टिल प्रा.लि.को नामको उद्देश्यको उद्योग संचालनका लागि मिति २०७३।५।२८ गते को हिमालय टाइम्स दैनिक पत्रिकामा १५ दिने सुचना प्रकाशित गरेकोमा त्यस दिनको सामाजिक, आर्थिक, सांस्कृतिक,जैविक,भौतिक आदि क्षेत्रमा प्रतिकुल असर पर्छ परेन परे यो सुचना टाँस भएको मिति ले १५ दिन भित्र जानकारी गराउने भनी सो सम्बधमा सुचना यस दुहबी भलुवा न.पा. कार्यालयका सुचना पाटीमा टाँस गरेको हामीहरु ले देखि जानी बुझी पढी वाँची यो सुचना टाँस मुचुल्कामा सही छाप गर्नेहरुले मिति २०७३।६।९ गते मुचुल्कामा सही गरी काम तामेल गरेको पाउछौँ ।

२०७३।५।२८ गते देखी २०७३।६।९ गते सम्म जम्मा ११ दिनको दिन नै मुचुल्का गरेको पाउँछौ । सार्वजनिक सुचना प्रकाशित भएको १५ दिन पछि मात्र सार्वजनिक सुनवाई हुनुपर्नेमा जम्मा ११ दिनको दिन नै प्रक्रिया मिचि गरेको सरजमिन मुचुल्काले मान्यता पाउन सक्ने होइन । उक्त विषयमा स्थानिय निकायका पदाधिकारीहरुले कानून प्रतिकुल भ्रष्टाचार गरी गरेको सिफारीस उपर अनुसन्धान गरी कारवाही गरी पाऊ भनिएको छ । त्यतिमात्र न भै उद्योगले गरेको प्रारम्भीक वातावरणिय परिक्षण प्रतिवेदन त्रुटिपुर्ण भएको र उद्योगको तर्फबाट वातावरणमा प्रतिकुल असर परेको भनी नेपाल सरकार वातावरण विभागले मिति २०७४ साल पौष ३ गते स्थलगत वातावरणिय अनुगमन निरिक्षणमा दिएको प्रतिवेदनले समेत पुष्टी गरी सकेको छ ।

सुनसरी–मोरङ्ग सिंचाई आयोजनाको कुलो मिचि उद्योग निर्माण गरेकोः
हाल उद्योगको विद्यमान फ्याक्ट्रीकोे मध्य भागमा नेपाल सरकारले निर्माण गरेको रित पुर्वक नक्सामा सरकारी कुलो जनिएको हुंदा हुदै सो लाई प्रत्यक्ष रुपमा मिचि सो माथि नै उक्त उद्योगको शेड र फ्याक्ट्री निर्माण गरी उद्योग पारीको सिंचाई पुर्णत बन्द हुने स्थिती सिर्जना गरेको छ । प्रिमियर स्टिल प्रा.लि. ले सुनसरी दुहबी न.पा.वार्ड नं. २ मा जम्मा क्षेत्रफल ७–०५–०७ मा आफनो उद्योग स्थापना गरी संचालन गरी राखेको छ । उक्त उद्योगका कारण नेपाल सरकारको सुनसरी मोरङ सिचाई आयोजनाको रामगञ्ज शाखा नहरको दुहवी भलुवा Minor को लगभग ०–८–० क्षेत्रफल (Water – Cource) शाखा नहर कुलो मासेको छ । सुनसरी मोरङ सिचाइ आयोजनाको नाममा कायम लगभग ०–८–० शाखा नहर मिचि सो को माथि नै उद्योग स्थापना गर्नु कानूनको शासनको ठाडो उपहास हो भनिएको छ । यसरी करिब मुल्य रु ५६०००००।–उक्त जग्गा प्रिमियर स्टिल प्रा.लि. का संस्थापक संचालक शिवरत्न सारदा, श्रीनिवास सारदा, सौरभ सारदा , नन्द किशोर राठी , अनुपम राठी, अजय कुमार राठी र विरेन्द्र राठीहरुले सरकारी जग्गा मासेर उद्योग स्थापना गरेको र स्थानिय सरकार र स्थानिय प्रशासनले सो मा कुनै रोक छेक समेत नगरेकोले उक्त कार्य पुर्णतः भ्रष्टाचार पुर्ण भएको उजुरीमा उल्लेख छ ।

सामूदायिक विद्यालयको जग्गा निजी उद्योगिले फ्याक्ट्रीको बाटो बनाएकोे ः हाल दुहबी न.पा. वार्ड नं. २ स्थित नविन शिक्षा आधारभूत आवासिय माध्यमिक विद्यालय नाम सामुदायिक विद्यालयको दुहबी न.पा. वार्ड नं. ३ घ को कि.नं. १२० र १२१ को जग्गा मध्येबाट र नेपाल सरकारद्वारा निर्मित सिंचाई पैनी समेत मिची उक्त विद्यालयका तत्कालिन व्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारी र प्रधानाध्यापकलाई प्रलोभनमा पारी विद्यालयलाई सो प्रयोजनको लागि भनी कागजमा ८ लाख रुपैया दिएको देखाई , सो बाहेक अनौपचारीक रुपमा ठुलो रकम खर्च गरी उक्त फ्याक्ट्रीको प्रयोजनको लागि बाटोको रुपमा प्रयोग गर्न दिएको र उद्योगिले लिएको अवस्था रहेको छ । सामुदायिक विद्यालयको सम्पत्ति कुनैपनि प्रकारले हस्तान्तरण योग्य नै नहुनेमा त्यस्तो विद्यालयको जग्गा समेत प्रयोग गर्न दिने र लिने कार्य आफैमा भ्रष्टाचार पुर्ण रहेको उजुरीमा उल्लेख छ ।

त्यसरीनै बाटो उपलव्ध गराउंदा विद्यालयको हकमा कानूनी , प्रशासनिक, तथा आर्थिक व्यवस्था मिलाउन र सम्झौता गर्न समेत प्रक्रिया अगाडी बढाउन लगनु उरावँको अध्यक्षतामा ,सदस्य सचिव सुरेन्द्र कुमार चौधरी र सदस्य अमृता सिहं दनुवार सदस्य रहेको ३ सदस्य वार्ता समिति गठन गरिएको थियो । मिति २०७३।०९।१७ गते श्री नवीन शिक्षा निकेतन निम्न मा.वि. दुहबी भलुवा ३ सुनसरी र पहिलो पक्ष आगे आशकरण राठीको नाती, कमल किशोर राठीको छोरा जि. मोरङ विराटनगर १२ बस्ने बर्ष अ. ३५ को विरेन्द्र राठीका बीच सम्झौता गरिएको माईन्यूट रहेछ । उक्त सम्झौतामा नवीन शिक्षा निकेतन नि.मा.वि. दुहवी भलुवा ३ सुनसरीको नाममा रहेको साविक जिल्ला सुनसरी दुहवि ३ घ किता नं. १२० क्षेत्रफल ०–१८–० जग्गा एै. एै. दुहवी ३घ किता नं. १२१ को क्षेत्रफल ०–९–० जग्गा मध्य र एै. एै. न. ३ घ १२१कोे पूर्व रहेको पैनी हाल चालुमा नरहेको सो पैनीलाई आधार मानि बाटो कायम गरी पैनीमा ३० फिट नभएको ठाउँमा पैनी समेत प्रिमियर स्टिल प्रा.लि.का संचालक विरेन्द्र राठीको नाममा दर्ता कायम रहेको जि. सुनसरी दुहवी ३घ किता नं. ८५० सम्म पुग्ने गरी ३० फिट चौडाइ जग्गा प्रथम पक्ष र दोस्रो पक्ष बीच बाटो परियोजनको लागि लिने दिने सहमती भइ बाटो परियोजन वापत आर्थिक सहयोग दोस्रो पक्षले मिति २०७३।०९।१७ गते रु. ८०००००।– (अक्षरेपी आठ लाख) रुपैयाको चेक सो विद्यालयको नाममा काटी विद्यालयलाई बुझाएको ठिक साँचो हो साथै विरेन्द्र राठीको नाममा दर्ता रहेको उत्तर मुखको पुग्ने गरी बाटो सम्म दिने हामी बीच सहमती भए अनुसारको निर्णय कार्यान्वयन गराउने दुबै पक्ष सहमति गरेको भनी उल्लेख गरिएको माइन्यूट रहेछ ।

समयसिमा भाका केहि पनि उल्लेख छैन । एकातर्फ लगभग ०–६–० जग्गाको १,००,००,०००÷– (अक्षरेपी एक करोड) मुल्यको सामुदायिक विद्यालयको सम्पत्ति ८ लाख बुझी विरेन्द्र राठी प्रिमियर स्टिल प्रा.लि. का संस्थापक सदस्यले उपभोगको लागि बाटो कायम गर्ने कार्य भ्रष्टाचार पुर्ण रहेको उल्लेख छ ।

ध्वनि र अन्य प्रदुषण नियन्त्रण नगरी उद्योग संचालन गरेको : 
उद्योगको अवस्थिती माथि उल्लेखित विद्यालय, मदरसा र बस्तीको अत्यन्त नजिक रहेको र उक्त उद्योगले गर्ने ध्वनि प्रदुषणले एकातर्फ विद्यालयमा पठन पाठन नै असंभव प्राय भएको छ । उद्योगले उत्सर्जन गरेको फोहरपानीले त्यतिकै विनास गरेको र चिम्नी, डिजल जेनेरेटर, फर्नेन्स र रोलिङ्गबाट निस्कने धुवा र ध्वनीले ठुलो प्रभाव पारी नजिकका मानव वस्ती, बालवालिका, बृद्धबृद्धा, पशु पन्छी र बालीनाली वातावरण, जलवायु र स्वास्थ्यमा ठूलो असर परेको छ । पानीको श्रोत अत्यन्त दुषित भएको साथै उक्त उद्योगले ठुलो बोरिङ्ग गरी पानीको प्रयोग गरेको कारणले नजिकका क्षेत्रको भुमिगत पानीको सतह तल गै खानेपानीको लागि प्रयोग हुने ट्युव वेल र सिंचाईको बोरीङ्गहरु समेत उपयोग योग्य छैन ।

यसरी सामाजिक, भौतिक, जैविक, साँस्कृतिक, धार्मिक र आर्थिक लगायतमा नकारात्मक प्रभावहरु परेको छ । उद्योगपति व्यापारीहरुको प्रलोभनमा परी कानून प्रतिकुल उद्योग दर्ता गर्ने लगायतका सम्पुर्ण काम भ्रष्टाचारपुर्ण भएको हुनाले उद्योगका संस्थापक संचालकहरु , उद्योग विभागका कर्मचारी, तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगनु उराव, प्रधान अध्यापक सुरेन्द्र कुमार चौधरी, सदस्य अमृता सिंह, सो कुराको साक्षिमा बस्ने ततकालिन लोकतान्त्रिक फोरम सुनसरीका अध्यक्ष प्रदिप कुमार चौधरी र गढी गाउँपालिकाका वर्तमान अध्यक्ष श्री प्रसाद यादव र सिफारीस गर्ने तत्कालिन दुहवी नगरपालिकाका कार्यकारी अधिकृत यूवराज ढकाल, सरजमिन र काम तामेल गर्ने दुहवी नगरपालिकाका खरदार शिवनारायण चौधरी र स्थानिय निकायका कर्मचारीहरु रोहवरमा बस्ने पूर्व दुहवी गाविस अध्यक्ष बिनय पोखरेल, रामगन्ज सिँचाई शाखाको उपभोक्ता समितिका अध्यक्ष टेकचन्द बिश्वास, र सदस्यहरु र सुनसरी–मोरङ्ग सिंचाई आयोजनाका कर्मचारीहरु सधियारहरु उपर समेत अनुसन्धान गरी भ्रष्टाचारमा कारवाही गरी पाऊ भनी उजुरीमा उल्लेख छ ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्