Logo
७ बैशाख २०८१, शुक्रबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युवती राखेर यौनधन्दा चलाएको आरोपमा होटल सञ्चालक दम्पत्ती पक्राउ

बुटवल : होटलमा यौनधन्दा चलाएको आरोपमा बुटवलमा प्रहरीले होटल सञ्चालक दम्पतिलाई पक्राउ गरेको छ । होटलमा बढार कुँडार गर्न भनेर राखिएकी युवतीलाई यौन धन्दामा लगाएको सूचनापछि प्रहरीले बाग्लुङ निसिखोला ७ घर भई बुटवल ११ मा होटल चलाउँदै आएका होटल सञ्चालक दम्पत्ती टेकबहादुर कुँवर र मीनाकुमारी बस्नेतलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए ।

बुटवल ११ कालिकानगरस्थित राप्ती मेनु होटलमा करिब ६ महिनादेखि बन्धकजस्तै बनेकी कपिलवस्तु घर भएकी १५ वर्षीया किशोरी यौन शोषणको पीडा सहन नसकेर भागेपछि घटना बाहिर आएको प्रहरीको भनाइ छ । पक्राउ परेका कुँवर दम्पतिलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

भाँडा माँझ्न बसेकी किशोरीलाई आफ्नो होटलसँगै अन्य होटलमा समेत यौन सम्पर्कका लागि पठाउन थालिएपछि किशोरी भागेर घर गएको भनाइ छ । प्रहरीको दाबीअनुसार राप्ती मेनु होटलमा किशोरी र युवतीहरु जम्मा गर्ने र बुटवलमा विभिन्न होटलहरुमा यौनधन्दाका लागि पठाउने गरिएको थियो ।

पीडितको भनाइ उधृत गर्दै प्रहरीले जनाए अनुसार होटलमा काम गरेको पैसा पनि होटल संचालकले दिएका थिएनन् । उनले यौन शोषणमा लगाए वापतको पैसासमेत कुँवर दम्पति आफैंले बुझ्ने गरेका थिए । पक्राउ परेका दम्पत्तीलाई मानव बेचबिखन तथा संगठित अपराधमा कारवाही गरिने प्रहरीले जनाएको छ । ती दम्पत्तीलाई १५ बर्षको कैद सजायँ हुनसक्ने कानुनी व्यवस्था रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्