Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एप्पलको फाइभ जी फोन आउन समय लाग्ने

प्रिमियम स्मार्टफोन बजारमा एप्पलले सर्वोत्कृष्ट ब्राण्डको रुपमा आफ्नो पहिचान कायमै राखिरहेको छ । तर एउटा पछिल्लो प्रविधिको मामिलामा चाहिँ एप्पल पछि परेको छ ।

बेलायत, चीन तथा जापान जस्ता देशहरुले फाइभ जी नेटवर्कको विकास गरिसकेका छन् । र, स्मार्टफोन कम्पनीहरु बीचमा फाइभ जी कनेक्टिभिटीयुक्त स्मार्टफोन उत्पादन गर्ने प्रतिस्पर्धा चलिरहेको छ । तर आइफोन निर्माता एप्पल चाहिँ यो मामिलामा पछि परेको छ ।

एप्पलको पछिल्लो अवस्थालाई मध्यनजर गर्दा आगामी सन् २०२० अघि एप्पलले फाइभ जी स्मार्टफोन ल्याउन सक्नेछैन । सन् २०२० मा आइफोन ल्याउनका लागि पनि एप्पललाई फाइभ जी चिपको आवश्यकता पर्नेछ । एप्पल आफैंलाई फाइभ जी तयार गर्नका लागि करिब ६ वर्ष लाग्नेछ ।

तथापि सन् २०२० मा क्वालकोम कम्पनीको सहयोगमा एप्पलले फाइभ जी आइफोन बजारमा ल्याउने अपेक्षा गरिएको छ । एप्पलले यसअघि पनि क्वालकोमसँग सहकार्य गरिसकेको छ ।

यसअघि रोयल्टीका विषयमा एप्पल र क्वालकोमबीच अमेरिका, चीन, जर्मनी लगायतका देशहरुमा कानुनी लडाइँ चलिरहेको थियो, जुन अहिले सल्टिइसकेको छ । यसको अर्थ आइफोनले आगामी दिनमा क्वालकोम उत्पादित मोडेम चिपको प्रयोग गर्न सक्नेछ । यसका लागि ग्लोबल पेटेन्ट लाइसेन्स तथा चिपसेट आपूर्तिका विषयमा दुई कम्पनीको बीचमा सम्झौता पनि भैसकेको छ ।

यसअघि क्वालकोमसँग विवाद चलिरहेको बेला एप्पलले इन्टेल कम्पनीसँग मिलेर स्मार्टफोन चिप बनाउन सुरु गरेको थियो । तथापि सन् २०१७ मा आइफोनका लागि इन्टेलद्वारा निर्मित चिपसेटबाट एप्पल खुसी थिएन । जसका कारण एप्पलले फाइभ जी चिप विकास क्वालकोमसँग सम्झौता गरेको हो । र, यो सँगै एप्पल बाँकी कम्पनीहरुलाई टक्कर दिनका लागि तयार छ ।

यद्यपि तत्कालका लागि क्वालकोमको चिपसेट लिएर फाइभ जी स्मार्टफोन निर्माण गर्ने भएतापनि एप्पल भविष्यमा आफ्नै फाइभ जी मोडेप चिप विकास गर्ने कोसिसमा पनि छ । यसका लागि एप्पलका इन्जिनियरहरु जुटिरहेका छन् ।

फाइभ जी स्मार्टफोन उत्पादन गर्ने उल्लेखित समाचारका विषयमा एप्पलले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । फाइभ जी प्रविधिको बजार अन्य कम्पनीका लागि जस्तै एप्पलका लागि पनि चुनौतिपूर्ण हुनेछ । फाइभ जी इन्टरनेट प्रविधिले प्रयोगकर्ताको जीवनशैली तथा इन्टरनेट प्रयोगको अनुभवलाई पनि पूर्णरुपमा परिवर्तन गरिदिनेछ । यो मामिलामा एप्पल अवश्य पनि पछि रहन चाहँदैन ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्