Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविले सेमेष्ट्रर प्रणालीलाई आधुनिक,गुणस्तरीय एवं विश्वस्तरीय बनाउने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालनमा रहेको सेमेष्ट्रर प्रणालीलाई आधुनिक,गुणस्तरीय एवं विश्वस्तरीय बनाउने भएको छ ।

त्यसका लागि विश्वविद्यालयले विद्यार्थी केन्द्रीत शैक्षिक प्रणाली निर्माण गर्ने विषयमा विज्ञहरुसँग छलफल गरेको छ । भक्तपुरको नगरकोटमा भएको एक कार्यशालामा सेमेष्टर प्रणालीमा कक्षा सञ्चालन भइरहेका उपत्यका वाहिरका १६ वटा आंगिक क्याम्पसवाट ३२ जना र अन्य उपत्यकाका विभिन्न आंगिक क्याम्पसहरु समेत गरी ८० जना सहभागि थिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा तीर्थराज खनियाले सिकाई आफैमा जटिल एवम् दायरा फराकिलो भएको भन्दै शिक्षकले जानेको ज्ञान मात्रै अन्तिम ज्ञान नभएको बताए । विश्वव्यापी भुमण्डलीकरणका कारण सिक्ने र सिकाउने प्रणालीमा परिवर्तन आएको हुनाले सेमेष्टर प्रणालीलाई थप व्यवस्थित एवं सृदृढ बनाउदै लैजाउनुपर्ने धारणा व्यक्त गरे ।

त्रिभुवन विश्वविद्यालय सेमेष्ट्रर प्रणालीको कार्यान्वयन बाट पछि हटन नसक्ने उल्लेख गर्दै उनले विद्यार्थीको मूल्यांकन प्रक्रियामा लचिलो बन्न प्राध्यापकहरुलाई आग्रह गरे । मुल्यांकन सेमेष्टर प्रणालीको महत्वपूर्ण पक्ष र नेपालको सन्र्दभमा चुनौती समेत रहेकोले यसका विविध आयामहरुलाई आंकलन गर्न अनुरोध गर्नुभएको थियो ।

त्रिवि शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीले सेमेष्टर प्रणालीले विद्यार्थीहरुलाई उत्प्रेरित र शिक्षकहरुलाई जिम्मेवार बनाउने बताए । त्यसैगरी त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले शिक्षण विधिमा भएको विश्वव्यापी परिवर्तनलाई आत्मसाथ गर्दै सूचना तथा प्रविधिको प्रयोगबाट कक्षाकोठामा सिकाईको वातावरण निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रममा स्टोनी बु्रक्स विश्वविद्यालय,संयुक्त राज्य अमेरिका सह प्राध्यापक घनश्याम शर्माले कार्यक्रमको उद्देश्यको वारेमा जानकारी गराउदै विद्यार्थीलाई परिक्षाको माध्यावाट मात्रै मुल्यांकन गर्नु नहुने बताए । विद्यार्थीमा भएको अन्तरनिहित क्षमता,कला, शैली,संस्कारका माध्यामबाट समेत मूल्यांकन गर्ने भएकोले सेमेष्टर प्रणाली विश्वकै उत्कृष्ट शैक्षिकप्रणाली रहेको बताए ।

यसैगरी मोग्रन विश्वविद्यालय,संयुक्त राज्य अमेरीकामा प्राध्यापक गर्दै आएको कृष्ण विष्टले सेमेष्टर प्रणालीको अन्तराष्ट्रिय अनुभव र नेपालले सिक्नुपर्ने विषयका वारेमा अन्तर्क्रिया गरेको बताए ।

कार्यक्रमको पहिलो सत्रमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा रामप्रसाद खतिवडा,कानुन संकायका डीन,प्रा.डा विजय सिजापती, मानविकी तथा सामाजिक शास्त्र संकायका डीन, प्रा.डा शिवलाल भुषाल,शिक्षाशास्त्र संकायका डीन,प्रा.डा कृष्णप्रसाद गौतमले त्रिभुवन विश्वविद्यालयमा सेमेष्टर सञ्चालनको अवस्थाका वारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्