Logo
१३ बैशाख २०८१, बिहीबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किर्ते उपभोक्ता समिति प्रकरणमा राजपाका बिपी यादव र हरि मण्डल पुर्पक्षका लागि कारागार चलान

किर्ते उपभोक्ता समिति गठन प्रकरणमा पक्राउ परेका राजपा नेपालका दुई केन्द्रीय सदस्यलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ। सोमबार भएको मुद्दा सुनुवाइका क्रममा बिपी यादव र हरि मण्डललाई कारागार पठाउने आदेश भएको हो।

बैसाख ५ गते पक्राउ परेका छिन्नमस्ता गाउँपालिका मोहनपुर निवासी यादव पूर्वसासंद समेत हुन्। उनी रातो पासपोर्ट दुरुपयोग काण्डमा पनि मुछिएका थिए। राजगढ गाउँपालिका ३ नर्घो निवासी अर्का केन्द्रीय सदस्य मण्डल स्थानीय शान्ति समितिका पूर्व संयोजक हुन्।

यसैगरी, सोही आरोपमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइतलाई ४ लाख र निर्माण सामग्री आपूर्तिकर्ता दिलीपकुमार दास र रापाका स्थानीय नेता रमानन्द ठाकुरलाई जनही दुई लाख ५० हजार धरौटीमा रिहा गरिएको छ।

यादव र मण्डलसहितको संलग्नतामा अग्निसाइर कृष्णसवरण गाउँपालिकाको लेटरप्याड, प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादव, २ नम्बर वडाध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडाध्यक्ष अरुणकुमार चौधरीको छाप किर्ते गरिएको आरोपमा प्रहरीले सबैलाई पक्राउ गरी मुद्दा चलाएको थियो।

प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ र ३ का सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रकम निकाल्न किर्ते उपझोक्ता समिति गठन गर्न छाप किर्ते गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्