Logo
१३ बैशाख २०८१, बिहीबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोरीलाई अस्पतालमा छाडेर मैदानमा उत्रिए दुई क्रिकेटर

काठमाडौं : इङल्याण्ड र पाकिस्तानबीच ५ एकदिवसीय क्रिकेटको सिरिज इङल्याण्डले क्लिवस्विप गरेको छ । पहिलो खेल रद्द भएपछि बाँकी ४ वटै एकदिवसीयमा इङल्याण्डले जितेको हो । यो खेल हारजीतभन्दा पनि दुई पिताको कारण चर्चामा छ । यी दुवै क्रिकेटरहरु आ–आफ्ना छोरीलाई सिकिस्त अवस्थामा अस्पतालमा छाडेर मैदानमा उत्रिएका थिए । यीमध्ये एक पिताकी छोरीले मृत्युसँग हार्न पुगिन् ।

सिरिज चलिरहँदा पाकिस्तानी अलराउण्डर आसिफ अली र इङल्याण्डका ब्याट्सम्यान जेसन रोय दुवैका छोरी अस्पतालमा थिए । आसिफ अलीकी छोरी लामो समयदेखि क्यान्सरबाट पीडित थिइन् र अस्पतालमै थिइन् । जेसन रोयकी छोरी पनि हालै सिकिस्त बिरामी भएर अस्पताल भर्ना भएकी थिइन् । अहिले भने रोयकी छोरी मात्र यो संसारमा छिन् । आसिफ अलीकी छोरीले क्यान्सरसँग जुध्दाजुध्दै मृत्युसँग हारेकी छिन् । उनको मृत्यु यस्तो बेलामा भयो जब उनका पिता इङल्याण्डसँग पाँचौं एकदिवसीय खेलिरहेका थिए ।

आसिफकी छोरीको उपचार अमेरिकामा भइरहेको थियो । आसिफ आबद्ध पाकिस्तान सुपर लिग टिम इस्लामाबाद युनाइटेडले ट्वीट गर्दै उनकी छोरीको मृत्यु भएको पुष्टि गरेको छ । आसिफकी छोरी क्यान्सपीडित भएको पीएसएलको चौथो सत्रको क्रममा सार्वजनिक भएको थियो । त्यतिबेला आसिफ इस्लामाबाद युनाइटेडका कोच डीन जोन्सको अगाडि रोएका थिए । आसिफले २२ अप्रिलमा ट्वीट गर्दै छोरीलाई उपचारका लागि अमेरिका पठाउन लागेको बताएका थिए । आसिफ पाकिस्तानको विश्वाप टोलीमा पनि छन् ।

अर्कोतर्फ शुक्रबार भएको चौथो एकदिवसीयमा इङल्याण्डका ओपनर जेसन रोय पनि सिकिस्त छोरीलाई अस्पतालमा छाडेर मैदानमा उत्रिएका थिए । त्यसको अघिल्लो रात उनी रातभर छोरीलाई कुरेर अस्पतालमा बसेका थिए । ८९ बलमा ११४ रन बनाएका रोयले भने, ‘यो मेरो करिअरकै फास्ट इनिंग होइन । मुस्किल परिस्थितिमा एक विशेष इनिंग भने हो । मेरा लागि बिहानी खराब भएको थियो । यसैले यो इनिंग म र मेरो परिवारका लागि विशेष छ ।’

उनले भने ‘म छोरीलाई लिएर बिहान साढे एक बजे अस्पताल गएँ । त्यहाँ साढे आठ बजेम्म बसेँ । केही समय सुत्नका लागि फिर्ता भएँ, अभ्यासभन्दा ठिक पहिला मैदानमा पुगेँ । यसपछि यो शतकीय इनिंग खेलेँ ।’ शुक्रबार ट्रेन्टब्रिजमा उनले करिअरको आठौं शतक बनाए । यो पाकिस्तानविरुद्धको दोस्रो शतक थियो । २०१५ मा उनले पहिलो शतक पनि पाकिस्तानविरुद्ध नै बनाएका थिए ।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्