Logo
८ बैशाख २०८१, शनिबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ओली सरकार जनताको समृद्धिमा लागेको हो कि दलाल र बिचौलियाको ?’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले केपी शर्मा ओली नेतृत्वको सरकार जनताको समृद्धिमा लागेको हो कि दलाल र बिचौलियाको भन्ने स्पष्ट नभएको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधसभा बैठकमा सांसद सिंहले ऊखु किसानको बाँकी रहेको भुक्तानी नभएको बताए ।

सांसद सिंहले भने, सरकारको नारा समृद्धि, सुशासन रहेको छ । कसको समृद्धि? दलाल बिचौलिया कि दलालको समृद्धि? स्पष्ट भएन ।सिंहले सर्लाहीमा रहेका तीन चिनी मिलले किसानलाई गत वर्षकै ऊखुको बक्यौता नदिएको बताए । उनले भने, विचौलिया मोटाउने, किसानको उठीबास हुने भयो । सरकारको नीतिले किसानको समृद्धि आउछ होला जस्तो लाग्दैन । सांसद सिंहले किसानले पाउन बाँकी रहेको भुक्तानी दिने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

त्यसैगरी सांसद एकवाल मियाँले पनि ऊखु किसानको बाँकी रहेको बक्यौता भुक्तानी गर्न माग गरेका छन् । संसद बैठकको सुरुमा राष्ट्रिय जनता पार्टीका सांसदहरू सिटबाट उठेर विरोध गरेका थिए । उनीहरूले मधेस र थारु आन्दोलनको छानबिन गर्न गठित सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए ।

राजपाकी सांसद चन्दा चौधरीले पटक पटक माग राख्दा पनि पूरा नभएको र लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुनुको कारण के हो भन्ने प्रश्न गरेकी थिइन । उनले आफ्नो माग पूरा भएन भने कडा रूपमा प्रस्तुत हुने चेतावनी दिइन । सभामुख कृष्णबहादुर महराले राजपाको मागप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले सरकारलाई उचित जवाफ दिन निर्देश गरेका छन् । सांसद अतहर कमाल मुसलमानले आन्दोलनरत नर्सहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गरेका थिए। उनले नर्सहरूमाथि सरकारले बल प्रयोग गरेकामा विरोध जनाएका थिए ।

राजपा सांसद अनिलकुमार झा र कांग्रेस सांसद उमेश श्रेष्ठले आन्दोलनरत अस्थायी शिक्षकका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गरेका थिए । नेकपा सांसद गजेन्द्रबहादुर महतले जुम्लामा सरकारी जग्गा मिचेकोबारे आवाज उठाएका थिए भने घनश्याम खतिवडाले किसानका गुनासा सदनमा सुनाएका थिए । मलको अभावले खेतिपातीको समयमा किसान मर्कामा परेको बता ए। सांसद आशाकुमारी विकले सडक योजना छिटो हुन नसकेको बताइन ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्