Logo
७ बैशाख २०८१, शुक्रबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा फेरि भाजपालाई भारी बहुमत, नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री बन्दै !

भारतमा १७ औं लोकसभा निवार्चन अन्तर्गतको सबै चरणका मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएसँगै नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री बन्ने प्रक्षेपण गरिएको छ ।

बिभिन्न स्वतन्त्र एजेन्सीहरुले गरेको एक्जिट पोलहरुमा नरेन्द्र मोदी नै दोस्रो पटक सत्तामा पुग्ने देखाएको हो । विभिन्न एक्जिट पोलहरुले मोदीको नेतृत्वमा रहेको गठबन्धनले नै सत्ता जोगाउन सक्ने गरी बहुमत ल्याउने देखाएको छ ।

५ सय ४३ सदस्यीय लोकसभामा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (NDA) ले पाँच अघिको निर्वाचनका तुलनामा केही स्थान घटाए पनि स्पष्ट बहुमत ल्याउन अनुमान गरिएको छ ।

सात चरणको निर्वाचन सम्पन्न भएलगत्तै सार्वजनिक गरिएका मत सर्वेक्षणमा एनडीएले बहुमत स्थानमा जित हात पार्ने देखिएको हो । सर्वेक्षणहरुले एनडीएले २८० देखि ३०० सिट जित्ने अनुमान गरेका छन् ।

५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ । सर्वेक्षणहरुको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चितजस्तै देखिएको छ ।

भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपीए)ले करिब १४० सिट जित्ने मत सर्वेक्षणमा देखिएको छ । मतगणना भने आगामी बिहीबारबाट हुने छ ।

चुनावअघिका मत सर्वेक्षणहरुले भने कुनै पनि गठबन्धनले बहुमत नल्याउने प्रक्षेपण गरेका थिए । गत अप्रिल ११ देखि सुरु भएर डेढ महिनासम्म चलेको चुनावमा सत्तारुढ गठबन्धनले राष्ट्रिय सुरक्षा र राष्ट्रवादको मुद्दालाई अघि सारेको थियो भने विपक्षीहरुले रफाल लडाकु खरिद प्रकरण, किसान समस्या, बेरोजगारी, नोटबन्दी, जीएसटी र हिन्दू अतिवादलाई प्रमुख मुद्दा बनाएका थिए ।

चुनावलाई मोदी सरकारको विगत पाँच वर्षको कामकारबाहीको परीक्षाका रुपमा हेरिएको थियो । ५ वर्षअघि भएको चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले एक्लै २७२ स्थानमा जित हात पारेको थियो । विपक्षी कांग्रेस ४४ सिटमा सीमित भएको थियो ।

आइतबार सातौं तथा अन्तिम चरणको मतदान सकियो । यो चरणमा उत्तर प्रदेश, विहार, पश्चिम बंगालसहित सात राज्य र केन्द्र शासित राज्यका ५९ सिटका लागि मतदान भयो ।

यो चरणमा उत्तर प्रदेश र पञ्जाबका १३, विहार र मध्यप्रदेशका ८–८, पश्चिम बंगालका ९, हिमाञ्चल प्रदेशका ४, झारखण्डका र केन्द्र शासित चण्डीगढको १ सिटमा मतदान भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

यो चरणमा सबैभन्दा महत्वपूर्ण मानिएको वाराणसीमा प्रधानमन्त्री नरेन्द्र मोदी भाजपाका तर्फबाट उमेदवार छन् । उनको सामना सपाका शालिनी यादव र कांग्रेसका अजय रायले गरेका छन् ।

भारतको निर्वाचनमा केन्द्रीय सरकार बनाउने गरी प्रभाव पार्ने मुख्य पाँच राज्य हुन् । तिनमा उत्तर प्रदेश–८०, महाराष्ट्र —४८, पश्चिम बंगाल–४२, बिहार–४० र तमिलनाडु–३९ सिट भएका क्षेत्र हुन् । मतपरिणाम मे २३ मा एकै पटक आउँदैछ ।

 

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्