Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार महासंघले सार्वजनिक गर्‍यो दोस्रो चरणको आन्दोलन

काठमाडौं : मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाउँदै आएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । महासंघको आइतबार बसेको केन्द्रीय समितिको बैठकले पहिलो चरणको आन्दोलन सम्पन्न हुँदासमेत सरकारले महासंघले उठाएका जायज माग सम्बोधन गर्नेतर्फ कुनै गम्भीरता नदेखाएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।

समस्या समाधान गर्न सरकार सकारात्मक नदेखिएकाले आन्दोलन घोषणा गर्नुपरेको महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महासंघले मिडिया काउन्सिल विधेयक संसद्‍मा पेस हुने दिन देशव्यापीरूपमा आकस्मिक विरोध प्रदर्शन गर्नेदेखि मानव हातेसाङ्लो बनाई बृहत् प्रदर्शन गर्नेसम्मका विरोधका कार्यक्रम तय गरेको छ ।

महासंघले जेठ ६ गतेदेखि जेठ २५ गतेसम्मका विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रमअनुसार यही जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरूसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसद्‍मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चारमाध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने महासचिव विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै महासंघले जेठ १३ र १४ गते सांसदहरुसँग भेट गरी छलफल गर्ने, जेठ १६ र १७ गते प्रेस स्वतन्त्रता सेनानीको ऐक्यबद्धता, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा उक्त विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने तय गरेको छ ।

यस्तै जेठ २१ र २२ गते महासंघका जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने, जेठ २३ र २४ गते केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने, जेठ २५ गते अपरान्ह ३:०० बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने, काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेको स्थानमा सोही खालको प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्नेलगायतका विराधका कार्यक्रम सार्वजनिक गरेको हो। मन्त्रिपरिषदवाट पारित भई संसदमा वैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति महासंघले असहमति जनाउँदै आएको हो।

प्रकाशित मिति: May 19, 2019

प्रतिक्रिया दिनुहोस्