Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वव्यापी प्रयोग बढ्दै गएको एलइडी लाइट हुँदैन आँखाका लागि राम्रो

कम ऊर्जा खपत् गर्ने भएकाले पनि पछिल्लो समय एलईडी लाइटको विश्वव्यापी प्रयोग बढ्दै गएको पाइन्छ । टिभी, बत्तीलगायत अहिलेका अधिकांश विद्युतीय उपकरणमा एलईडीकै प्रयोग भइरहेको छ ।

तर फ्रान्सको स्वास्थ्य निकायले गरेको एउटा परीक्षणपछि एलईडीमा हुने निलो प्रकाशले हाम्रो आँखाको रेटिनामा क्षति पुर्याउनुका साथै हाम्रो शारीरिक र सुत्ने चक्रमा अवरोध पुर्याउने गरेको पत्ता लागेको छ ।

रिपोर्टमा उल्लेख गरिएअनुसार परीक्षणमा फेला परेको नयाँ वैज्ञानिक प्रमाणले उच्च स्तरमा ‘ब्लु लाइट’ को सामना गरिरहनाको ‘फोटोटक्सिक’ असर हुने गरेको पुष्टि गरेको हो अर्थात आँखाको दृष्टिमा हानिकारक प्रभाव पार्ने बताइएको छ । यति मात्र नभएर यसले ५० वर्षको उमेर कटेपछि आँखाको दृष्टि अचानक कमजोर हुने वा ज्योति गुम्ने समस्याको जोखिम पनि बढाउने फ्रान्सेली एजेन्सीले बताएको हो ।

यसरी सन् २०२० सम्ममा एलईडी लाइटनिङले विश्वको ४८ प्रतिशत ऊर्जाको प्रतिनिधित्व गर्ने अनुमान गरिएको छ । तर यसले मस्तिष्कको शारीरिक घडीसँग सम्पर्क गर्ने रेटिनामा प्रभाव पार्ने हुँदा स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ ।

वैज्ञानिकहरुका अनुसार केही दिन वा केही हप्तासम्म एलईडी ब्लु लाइटको सामना गर्नुले त्यति हानि नपुर्याएपनि महिनौँ वा वर्षौँसम्म हामी यसको सम्पर्कमा आइरहे आँखा सम्बन्धी रोगको खतरा बढ्न पुग्ने बताइएको हो । यस्तोमा एजेन्सीले कम जोखिमयुक्त एलइडी डिभाइस मात्र उपलब्ध गराइनुपर्ने बताएको छ । सीएनएनबाट

प्रकाशित मिति: May 19, 2019

प्रतिक्रिया दिनुहोस्