Logo
१२ बैशाख २०८१, बुधबार
(May 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भक्तपुरको प्रसिद्ध रानीपोखरी सर्वसाधरणका लागि खुलाइने

भक्तपुर : भक्तपुरको प्रसिद्ध एवं ऐतिहासिक रानीपोखरी सर्वसाधरणका लागि खुला हुने भएको छ । नेपाली सेनाको सैनिक आवासीय महाविद्यालय हाताभित्र रहेको उक्त पोखरी सर्वसाधरणको लागि खुला गर्न सेना सहमत भएको हो ।

भक्तपुर नगरपालिका र नेपाली सेनाबीच विभिन्न चरणमा पटकपटक भएको छलफलपछि भक्तपुुर नगरपालिका-१ सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनर्निर्माण र सर्वसाधारणका लागि खुला गर्ने सहमति भएको छ । यस्तै, सिद्धपोखरी उत्तरतर्फको खेल मैदान स्थानीयका लागि खेलकुद प्रयोजनका लागि खुला गर्ने गरिने छ ।

सहमतिअनुसार नगरपालिका र नेपाली सेनाले समन्वयमा रानीपोखरीको क्षेत्रफल यकिन गर्ने र त्यसको आधारमा नगरपालिकाले जिर्णोद्वार गर्ने भएको छ। जिर्णोद्वारसँगै त्यहाँ भेटिएका पुरातात्विक वस्तुहरुको संरक्षण र भग्नावशेषको रुपमा रहेको पाटीको पुनर्निर्माण पनि नगरपालिकाले गर्ने भएको छ । सहमतिअनुसार पोखरीको क्षेत्र अध्ययन सुरु भइसकेको छ ।

रानीपोखरी जिर्णोद्वारपछि सुरक्षाको उचित व्यवस्था मिलाई पोखरीलाई चारैतिर पर्खालले घेरेर पोखरीको दक्षिण सल्लाघारी, दूधपाटी बाटोतर्फ प्रवेशद्वार बनाई बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सर्वसाधारणको लागि खुला गरिने सहमति भएको नगर प्रमुख सुनील प्रजापतिले बताए। साथै, रानीपोखरी अवलोकन गर्न आउनेका लागि सवारीसाधन पार्किङ स्थल सल्लाघारीको खाली जमिनमा नगरपालिकाले निर्माण गर्ने भएको छ ।

त्यस्तै, सिद्धपोखरी उत्तरतर्फको खेल मैदानको चारैतिर तारबारले घेरी मैदानको दक्षिणतर्फ प्रवेशद्वारको व्यवस्था गरी स्थानीयका लागि बिहान सोढ ७ बजेदेखि साढे ११ बजेसम्म चार घण्टा खुला गर्ने र शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला गर्ने सहमति भएको छ। साथै, सैनिक महाविद्यालय बन्द रहेको र आवासीय विद्यार्थीहरु बिदामा रहेका दिनहरुमा बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म स्थानीयको लागि खुला हुने जनाएको छ ।

रानीपोखरी जीर्णोद्वार र खेल मैदान खुला गर्ने विषयमा नेपाली सेनाका प्रधानसेनापती पूर्णचन्द्र थापासँग समेत नगरप्रमुख प्रजापतिले आवश्यक छलफल गरेका थिए।

प्रकाशित मिति: May 18, 2019

प्रतिक्रिया दिनुहोस्