Logo
१५ चैत्र २०८०, बिहीबार
(May 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेनाद्वारा यार्सा टिप्न गएका २० जना पक्राउ

डोल्पा : हिमाली जिल्ला डोल्पाको एक यार्सापाटनबाट अवैध रूपमा छिरेका २० जना यार्सागुम्बा टिप्न गएका स्थानीय पक्राउ परेका छन् । शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने ढाढाचौर यार्सापाटनबाट सुम्दो चेकपोष्टबाट खटिएको निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले १६ जना पुरुष र ४ जना महिलासहित २० जनाको समूहलाई पक्राउ गरिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादपले जानकारी दिए ।

पक्राउ पर्ने सबै जुम्ला जिल्लाका भएको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । पक्राउपर्नेमा जुम्ला जिल्ला गोठिचौर गाउँपालिका २ बस्ने सुर्य बोहोरा, बलीबहादुर बोहोरा, एकराज बुढा, मुनवीर बुढा, खुम बोहोरा, मानबहादुर ऐडी, खड्क बोहोरा, कमल बुढा, दलबहादुर थापा, सुशिलादेवी बुढा, कर्ण बुढा रहेका छन् ।

सोही गाउँपालकाको वडा नम्बर १ बस्ने जुनबहादुर महतारा, कविता महतारा, सृजना ऐडी, शुसिला बस्नेत, तातोपानी गाउँपालिका ८ बस्ने कालीबहादुर थापा, तप्तबहादुर थापा, जनक थापा, निसान थापा, पातारासी गाउँपालिका ५ का गोर्ख बुढा पनि पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ परेको टोलीबाट १५० गोटा यार्सागुम्बा, नगत २ लाख ८१ हजार, कुटो १८ वटा, हँसिया एउटा वटा, मोबाइल लगायतका सामानहरू बरामद गरिएको निमित्त संरक्षण अधिकृत यादवले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । उनिहरू यार्सापाटन खुलागर्ने समय अगावै अवैध रूपमा चोरी तस्करीगर्ने उद्येश्यले पाटनमा छिरेको पाइएकाले पक्राउ गरिएको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ। जिल्लास्थित सरोकारवाला निकायको बैठकले १३ जेठमा मात्रै डोल्पाका सम्पूर्ण यार्सागुम्बा पाटन खोल्ने निर्णय गरेकाले पाटन खुल्नु अगावै चोरी शिकारी गर्ने उद्येश्यले यार्सापाटन छिर्ने जो कोहीलाइ पक्राउ गरेर कारवाही गरिने निकुञ्जको भनाइ छ ।

बैशाखदेखि हालसम्म नेपाली सेना र निकुञ्जको टोलीले विभिन्न यार्सापाटनबाट ५२ जना यार्सागुम्बा टिप्न जाने स्थानीयलाई पक्राउ गरेको जनाएको छ। यसअघि पनि नेपाली सेनाको गस्ती टोलीले निकुञ्ज क्षेत्रमा पर्ने फेरीगाँउबाट कस्तुरीको छाला र १० वटा पासो बेवारिसे रूपमा फेला पारेर निकुञ्जलाइ बुझाएको थियो । यार्सागुम्बा संकलन गर्ने समय नजिकिँदै गएकाले निकुञ्ज क्षेत्र भित्रका यार्सापाटनमा चोरी शिकारी बड्नसक्ने भन्दै सेना र निकुञ्जका कर्मचारीको गस्ती टोली विभिन्न नाका र यार्सापाटनमा खटिएको छ।

प्रकाशित मिति: May 17, 2019

प्रतिक्रिया दिनुहोस्