Logo
७ बैशाख २०८१, शुक्रबार
(May 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनमा सबै भाषाका विकिपिडिया बन्द गरियो

बेइजिङ :  चीनमा सबै भाषाका विकिपिडिया प्रतिबन्धित गरिएको छ । चीनमा गत अप्रिल महिनादेखि विकिपिडियाका सबै भाषाका पेज नखुल्ने बनाइएको विकिमिडिया फाउन्डेसनले पुष्टि गरेको हो। इन्टरनेट सेन्सरसिपबारे अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले चीनमा अन्य हजारौं वेबसाइटजस्तै विकिपिडिया पनि खोल्न नसकिने बनाइएको विषय पत्ता लगाएका हुन्।

चीनले सुरुमा चिनियाँ भाषामा प्रकाशित विकिपिडिया पेजलाई प्रतिबन्ध लगाएको थियो। अहिले त्यो प्रतिबन्ध अन्य भाषामा पनि थपिएको बिबिसीले उल्लेख गरेको छ। चीनमा सबै भाषाका विकिपिडिया पेज प्रतिबन्ध भएको बारे आफूले कुनै औपचारिक सूचना नपाएको विकिपिडियालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

‘अप्रिलको अन्त्यतिर विकिपिडिया फाउन्डेसनले चीनमा विकिपिडिया खोल्न नकसिनेबारे निश्चित गर्यो। हाम्रो ट्राफिक प्रतिवेदन राम्ररी विश्लेषण गरेपछि सबै भाषामा विकिपिडियालाई बन्द गरिएको हामी पुष्टि गर्न सक्छौं,’ एउटा विज्ञप्ति प्रकाशित गर्दै विकिपिडियाले जनाएको छ। जानकारीमुलक बेवसाइट विकिपिडिया सन् २०१७ मा टर्कीमा बन्द गरिएको थियो भने यो वर्ष भेनेजुएलामा बेलाबेलामा बन्द गरिएको थियो।

चीनमा एम्नेस्टी इन्टरनेसनलको वेबसाइट, फेसबुक, ट्विटर र अन्य हजारौं वेबसाइट तथा एपहरू खोल्न सकिँदैन। इन्टरनेटको प्रयोगलाई नियन्त्रित गर्न चीनले ‘ग्रेट फायरवोल अफ चाइना’ बनाएको छ। केही वर्षअघि चीनले गुगललाई पनि बन्द गरिदिएको थियो।

तर पछि चिनियाँ भाषाको गुगललाई नियन्त्रित रूपमा सञ्चालन हुन दिइएको छ। प्रयोगकर्ताहरुको विना पारिश्रमिक योगदान गरेर सम्पादन गर्ने विश्वज्ञानकोश विकिपिडियालाई बेलाबेलामा केही सरकारले आफ्नो देशमा नखुल्ने बनाइदिने गरेका छन्।

प्रकाशित मिति: May 17, 2019

प्रतिक्रिया दिनुहोस्