Logo
८ बैशाख २०८१, शनिबार
(May 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय लगानीकर्तालाई निर्धक्क भएर नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन् । ‘नेपाल-इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सो एण्ड कन्क्लेभ’ मा बिहीबार खतिवडाले वर्तमान सरकारले लगानीको वातावरण बनाएको, नीतिगत सुधारसमेत गरेको तथा उच्च प्रतिफल र सुरक्षाकोसमेत प्रवन्ध गरेकाले लगानीका लागि नेपाल उपयुक्त भएको बताए ।

नेपाल यतिखेर विदेशी प्रविधि र लगानीलाई भिक्र्याएर आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नेत्रममा रहेको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले भने हामीले कानूनी व्यवस्थामा आमूल सुधार गरेका छौँ । एकल बिन्दु सेवा केन्द्रसमेत सञ्चालनमा आइसकेको छ । वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनसमेत कार्यान्वयनमा आइसकेको छ । संसारभर नै लगानीका लागि प्रसिद्ध भइसकेको फ्रेन्चाइज लगानीका लागिसमेत नेपाल उपयुक्त गन्तव्य हुन सक्ने अर्थमन्त्रीको जोड थियो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सन्दर्भमा सेवामूलक उद्योगमा समेत लगानी विस्तार गर्ने सुगम अवसर रहेको बताए । नेपालको पर्यटन उद्योगमा निजी क्षेत्रको ठूलोमात्रामा लगानी रहेको जानकारी दिँदै अर्थमन्त्री डा खतिवडाले हरेक वर्ष पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएकाले थप लगानी विस्तार गर्न निजी क्षेत्रलाई आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सम्मेलनमा नेपाल र भारतका व्यवसायीबीच छलफल हुने भएकाले लगानीका थप अवसरको खोजीका लागिसमेत प्रभावकारी हुने बताइन् ।

नेपालको पर्यटन, उद्योग, अस्पताल, होटललगायत क्षेत्रमा लगानीको उपयुक्त गन्तव्य भएकाले पनि भारतीय लगानीकर्तालाई लगानी विस्तार गर्न उनले आग्रह गरिन् । “नेपालमा हाल दुई तिहाइको बलियो र स्थिर सरकार छ, सरकारको एकमात्रै नारा आर्थिक समृद्धि हो, प्रधानमन्त्रीले त्यसैमा जोड दिँदै आउनुभएको छ । सरकारले सबै क्षेत्रमा निजी क्षेत्रलाई साथमा लिएर जाने प्रतिवद्धता समेत जनाएको छ”, अध्यक्ष राणाले भनिन् ।

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपालमा फ्रेन्चाइजमार्फत लगानी विस्तार गर्न सकिने विविध क्षेत्र रहेको र युवा जमात त्यसमा आकर्षित हुन सक्ने बताए । बुधबारदेखि शुरू भएको उक्त मेलामा व्यापारिक सोच र अवसरका बारेमा समेत जानकारी दिने लक्ष्यका साथ विभिन्न ४७ कक्ष रहेका छन्।

प्रकाशित मिति: May 16, 2019

प्रतिक्रिया दिनुहोस्