Logo
७ बैशाख २०८१, शुक्रबार
(May 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कामको निर्धारित समय सकिदा विकास निर्माणका काम सबै अधुरै

पर्सा : काम सक्ने निर्धारित समय सकिदा पर्साका विभिन्न कार्यालय अन्तर्गत संचालित २५ वटा विकास निर्माण काममध्ये सबै अधकल्चो भेटिएका छन् ।

गएको चैत मसान्त सम्ममा विकास निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने ठेक्का सम्झौतामा उल्लेख छ । तर काम भने अझै अधुरै रहेको भेटिएको हो । हालसम्म जम्मा २० प्रतिशत मात्र काम सम्पन्न भएको गुणस्तर नापतौल क्षेत्रीय कार्यालय भवन निर्माण कार्यका लागि भने आगामी सात महिना पाँच दिनको समयावधि बचेको छ । बाँकी २४ वटा विकास निर्माणका कामको भने निर्माण गरिसक्नु पर्ने सबै अवधि सकिएको छ।

निर्माणकर्ताले कामका लागि ठेक्का सम्झौता गर्ने अनि समयमा नै काम नगर्ने परिपार्टीलाई बदल्न जिल्ला प्रशासन कार्यालय पर्साले कडाई गरेपछि वास्तविकता सतहमा आएको हो । जिल्ला भित्र संचालित सबै कार्यालयका विकास निर्माणका कामको विवरण जिल्ला प्रशासन कार्यालय पर्साले अहिले खोजी गरी सम्बन्धित निर्माण व्यवसायी र कार्यालयलाई समयमा नै काम सक्न दवाव दिइरहेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साकै दवावका कारण विभिन्न कार्यालयले चार वटा ठेक्का नै रद्ध गरेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए। उनले भने ‘आठ वटा ठेक्का पनि रद्ध गरी काम ओगटेर राख्नेलाई नभई काम गर्नेलाई दिएर समयमा नै काम पूरा गर्ने प्रकृया अगाडि बढाउन भनिएको छ ।‘ सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत स्वास्थ्य चौकी निर्माणका लागि जिम्मेवारी लिएर पनि काम नगर्ने स्वस्तिकश्री विनायक कन्स्ट्रक्सन प्रा।लि। र शिवराम कन्स्ट्रक्सन प्रा।लि। दोलखाको भने ठेक्का नै रद्ध गर्ने प्रकृया थालनी भएको भवन निर्माण आयोजना वीरगन्जका प्रमुख राजेन्द्र खतिवडाले बताए

स्वस्तिकश्रीले पर्साको भेडिहारीमा रहेको उपस्वास्थ्य चौकी स्तरोन्नति गरी स्वास्थ्य चौकी भवन निर्माण र शिवरामले पर्साकै शंकरसरैया, पटेर्वा सुगौली, र सम्भौतामा रहेको स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा लिए अनुसार काम नगरेपछि उनीहरुको ठेक्का रद्ध गर्ने प्रकृया अगाडि बढाइएको उनको भनाइ छ। उनीहरूसँगको सम्झौता मिति पनि धेरै पहिले नै सकिएको कार्यालय प्रमुख खतिवडाले बताए। जिल्लाभित्र कुन कार्यालयले के कस्ता विकास निर्माणका काम संचालन गर्दैछन् ? भनी माग भएको विवरण अनुसार पूर्वाधार विकास कार्यालय, पोखरिया नगरपालिका कार्यालय, गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय र नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई कामको विवरणसहितको ठेक्काको समय बण्ड उल्लेख भएको तथ्यांक उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

त्यो विवरणमा जम्मा २५ वटा विकास निर्माणका कामको फेहरिस्त उल्लेख छ । जसमा नाला निर्माणका काम देखि सरकारी भवन, र स्वास्थ्य चौकी भवन निर्माण सम्मको काम समेटिएका छन्। तर निर्माण कार्य भने अधुरै रहेको तथ्यांकले देखाएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । अटेर गर्ने निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई एक पटक मौका दिने र समयमा काम पूरा नभए आवश्यक प्रकृया अपनाइने पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । जिल्ला प्रशासन कार्यालय पर्साकै अगुवाई जिल्ला भरीका स्थानीय तहका प्रमुख तथा प्रतिनीधि र प्रदेश तथा संघका सांसदहरूको उपस्थितिमा केही महिना अगाडी पनि जिल्ला भित्र हुने विकास निर्माणका काममा विलम्ब कतैबाट नगर्ने भनी लिखित सहमति भएको थियो । त्यसै सहमतिलाई अहिले पनि जिल्ला प्रशासन कार्यालय पर्साले पच्छ्याई रहेको छ।

प्रकाशित मिति: May 16, 2019

प्रतिक्रिया दिनुहोस्