Logo
७ बैशाख २०८१, शुक्रबार
(May 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियारका तत्कालिन आयुक्त पाठकले अदालतलाई दिएको बयान आफैमा बाझियो

काठमाडौँ : घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले विशेष अदालतलाई दिएको बयान आफैमा बाझिएको भेटिएको छ । पाठकले विशेष अदालतमा हाजिर भएर बयान दिने क्रममा आफु सामान्य आर्थिक हैसियत भएको र खानलाउन पुग्ने मात्रै भएको बताएका छन् ।

तर बयानपछि पाठक बुधबारै ७८ लाख धरौटी बुझाएर रिहा भएका छन् । यसले उनको आर्थिक हैसियतबारे भनाइ र गराइमा भिन्नता भएको प्रस्टै बुझिन्छ । त्यस्तै, सामान्य खान लाउन पुग्ने व्यक्तिलाई बैंकले पनि कसरी ७८ लाख रुपैयाँको बैंक ग्यारेन्टी पत्याउन सक्छ भन्ने प्रश्न उठेको छ । बुधबार बयान सकिएको एक घण्टामै पाठकले उक्त रकम जुटाएका थिए ।

आर्थिक अवस्था सामान्य रहेको बताउने पाठकले एक घण्टामै कसरी ७८ लाख रुपैयाँ जुटाउन सके भन्ने प्रश्न उठ्नुका साथै उनी आफैले दिएको बयानसँग बाझिएको छ । अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा पाठकले २८ वटा प्रश्नको जवाफ दिएका थिए ।

अदालतमा बयान लिने क्रममा ‘सामान्य आर्थिक हैसियत’ भएका पाठकलाई सोधिएको स्वास्थ्य अवस्थाबारेको प्रश्नमा पाठकले उपचारका लागि बेलाबखत आफू विदेश पनि जानु परिरहेको जवाफ दिएका छन् । त्यस्तै, अदालतले पाठकलाई सोधेको एक अर्को प्रश्नमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको कुनै एक आयुक्तले मात्र टुङ्गो लगाउन नसक्ने जवाफ दिएका छन् । पाठकको यो जवाफबाट उक्त प्रकरणमा अन्य आयुक्त पनि संलग्न रहेको भन्ने संकेत गरेको छ ।

उनले दिएको यो बयानलाई आधार मानेर यो प्रकरणको थप अनुसन्धान गर्ने हो भने अख्तियारका अन्य आयुक्तहरु पनि मुछिने संकेत देखिएको छ । त्यस्तै पाठकलाई अनुसन्धानका क्रममा ज्ञानेन्द्र झा, ध्वजमान मोक्तान, शुभनारायण पाठकसँगको चिनजान र सम्बन्धबारे सोधिएको प्रश्नमा उनले रिसिवीका कारण आफुलाई फसाएको भन्ने जवाफ दिएका छन् ।

‘ज्ञानेन्द्र झाको विषयमा मेरो पहिले चिनजान थिएन । मिति २०७२/०८/१३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निज उपर परेको उजुरीमा आयोगको पूर्ण बैठकबाट उजुरी तामेलीमा राखेपश्चात निज मेरो कार्यलयमा केही दिनपछि आएर आफ्नो परिचय दिएको र सो अनुसार मेरो स्थायी ठेगानाबाट दक्षिण ३ किमीमा निजको घर रहेको र २ कि।मि उत्तरमा निजको ससुराली रहेको निजले भनेपछि त्योबेलादेखि मात्र चिनेको हुँ । मेरो निजसँग त्योभन्दा अगाडि चिनजान थिएन । निजसँग कुनै पनि लेनदेन थिएन छैन । रिसिबीको सम्बन्धमा आयोगका मिति २०७२/०८/१३ को निर्णयपश्चात निज इन्जिनियरिङ काउन्सिलको रजिष्ट्रार पदमा पुनर्बहालीको लागि मलाई व्यक्तिगत रुपमा पत्र लेखिदिनुभन्दा मैले व्यक्तिगत रुपमा उक्त पत्र लेख्न नमिल्ने भएकोले नलेखिदिएको कारण इवी लिइ सोही मितिदेखि ममाथि अनेक किसिमबाट रिसिबी राखी उक्त रिस पोख्न फसाउनका लागि अनेक प्रयत्न गरेका हुन्,’ पाठकले जवाफमा भनेका छन् ।

त्यसैगरी पाठकले ज्ञानेन्द्रकुमार झा, प्रतिवादी लम्बोदरकुमार न्यौपाने, कृष्णभक्त न्यौपाने, नेपाल इन्जिनियरिङ कलेजको विषयमा कुराकानी गर्न अख्तियारमा आफुलाई मात्रै भेट्न नआएको दाबी गरेका छन् । ‘मेरो कार्यकक्षमा उनीहरु भेटघाट गर्न आएका होइनन् । सामूहिक रूपमा आयोगका सम्पूर्ण पदाधिकारीहरु र आयोगको सचिवलाई भेटी लम्बोदरकुमार न्यौपानेले भेटेका हुन्,’ भन्ने जवाफ पनि दिएका छन् ।

कलेज विवादमा ७८ लाख रूपैयाँ घुस लिएको भन्दै तत्कालिन अख्तियार आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले नै गत चैत १२ गते मुद्दा दायर गरेको थियो । अख्तियारले घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएर विशेष अदालतमा अभियोग पत्र बुझाइएको थियो । पाठकले घूस लिएको समाचार बाहिरिएपछि उनले अख्तियारको आयुक्त पदबाट राजिनामा दिएका थिए ।

प्रकाशित मिति: May 16, 2019

प्रतिक्रिया दिनुहोस्