Logo
|| May 16, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘पार्टीमा एकताले मुलुकमा समृद्धि ल्याउनका लागि ठूलो योगदान पुर्‍याउने छ’ : मुख्यमन्त्री गुरुङ

कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टी एकतापछि वैचारिक एकताको खाँचो रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर कमिटी बागलुङले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बीचमा भएको एकताले मुलुकमा समृद्धि ल्याउनका लागि ठूलो योगदान पुर्‍याउने छ ।’

पार्टी इञ्चार्ज गुरुङले गलकोट क्षेत्रका विकासका लागि आफूले सक्दो पहल गर्ने बताउँदै गलकोट बजारलाई स्मार्ट सिटीका रुपमा विकास गर्न आजैबाट सकारात्मक कदम चाल्नुपर्ने धारणा व्यक्त गरे । मुलुकमा उपलब्ध स्रोत, साधन र संस्कृतिलाई आर्थिक रुपान्तरणका लागि सदुपयोग गर्नुपर्ने बताउँदै उनले गरीबी न्यूनीकरणका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

मुख्यमन्त्री गुरुङले कम्युनिष्टले समृद्धिका लागि ठूलो योगदान गर्न आवश्यक रहेको भन्दै आम पार्टी कार्यकर्तालाई समृद्धिका पक्षमा स्थानीयस्तरबाटै पहल गर्नुपर्ने बताए । भारत र चीनसँग जोडिएको गण्डकी प्रदेशलाई कालिगण्डकी करिडोर र मध्यपहाडी पुष्पलाल लोकमार्गले आर्थिक विकासमा ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: २ जेष्ठ २०७६, बिहीबार १४:२८

प्रतिक्रिया दिनुहोस्