Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलको रुपमा स्तरोन्नति गर्न पहल

चितवन : पश्चिम चितवनको मेघौलीमा रहेको विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा स्तरोन्नति गर्न पहल गरिएको छ । भरतपुरको चौबिसकोठीबाट २४ किलोमिटर पश्चिममा पर्ने मेघौली विमानस्थल क्षेत्रमा १० होटल र १० होमस्टे रहेका छन् ।

सो विमानस्थलसमेत हेर्दै आएका नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार सरोकारवाला निकायले मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलका रूपमा स्तरोन्नति गर्न चासो देखाएका छन् ।

गौतमले मेघौली विमानस्थलको धावनमार्ग एक हजार ५०० मिटर लम्बाइ बनाउन सकिने बताए । हाल सो विमानस्थलको लम्बाइ एक हजार मिटर छ । नजिकै २०० मिटर क्षेत्रमा सुकुम्वासीले बसोबास गरेका छन् ।

उनीहरुलाई विकल्प दिएर विस्तार गर्दा धावनमार्गलाई ५०० मिटर थप गर्न सकिने छ । विमानस्थल क्षेत्र २३ बिघामा फैलिएको छ । धावनमार्ग घाँसेमैदान रहेको छ । भरतपुर विमानस्थलमा धावनमार्गका कारण साना जहाज मात्र उडान हुँदै आएको छ । गौतमले मेघौली विमानस्थललाई स्तरोन्नति गर्न सके ७२ सिटे जहाज अवतरण गर्न सकिने बताए ।

पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले मेघौली क्षेत्रमा रहेका १० होटलमा ३५५ जनाको क्षमता र १० होमस्टेमा ८० जनाको क्षमता रहेको बताए । त्यहाँ आउने पर्यटक र स्थानीयवासीलाई लक्षित गरी पर्यटकीय विमानस्थलको रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।

विसं २०१६ मा स्थापना भई विसं २०६९ सम्म नियमित उडान हुँदै आएको सो विमानस्थलमा हाल आंशिकरूपमा चार्टरबाहेक अन्य उडान हुनसकेको छैन । गएको सङ्घ र प्रदेशको निर्वाचनको समयमा एक महीना नेपाल एयरलाइन्सले जहाज उडाएको भए पनि त्यसयता निरन्तरता पाउन सकेको छैन ।

चितवन राष्ट्रिय निकुञ्जभित्रको होटल टाइगरटप्स खुलेसँगै शुरु भएको यस विमानस्थल होटल बन्द भएसँगै बन्द हुनपुगेको हो । पर्यटक भित्र्याउनका लागि विमानस्थल शुरु भएको थियो ।

बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले विमानस्थल स्तरोन्नति गरेमा आफ्ना एयरलाइन्सका ठूला जहाज सञ्चालनमा ल्याउन सकिने बताए । पर्यटकीय विमानस्थलका रूपमा यो विमानस्थललाई विकास गर्नुपर्ने उनको भनाइ छ ।

भरतपुरमा विमान अवतरणका क्रममा समस्या देखिएमा मेघौलीमा आकस्मिक अवतरण गराउन सकिने देखिएको छ । विमानस्थलको बुधबार अवलोकनपश्चात प्रदेशसभा सदस्य कृष्ण भुर्तेलले दुई विमानस्थल रहेको एकमात्र स्थानीय निकायका रुपमा चित्रित भरतपुर महानगरका दुईमध्ये भरतपुरलाई आन्तरिक र मेघौलीलाई पर्यटकीय विमानस्थलका रुपमा विकास गर्नुपर्ने बताए ।

 

प्रकाशित मिति: May 16, 2019

प्रतिक्रिया दिनुहोस्