Logo
१३ बैशाख २०८१, बिहीबार
(May 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्री थापा र अमेरिकी उपसहायकमन्त्री रेन्जबीच भेट, आपसी सहयोग र सहकार्यबारे छलफल

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवाहक उपसहायकमन्त्री डेभिड जे रेन्जबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित गृहमन्त्रालयमा बुधबार भएको भेटमा नेपाल-अमेरीका सम्बन्ध, आपसी सहयोग र सहकार्यमा केन्द्रित रहेर छलफल भएको बताइएको छ ।

भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरेका थिए । गृहमन्त्रीको सचिवालयले भेटबारे दिएको जानकारी अनुसार केही महिनाअघि नेपालका परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण र सो क्रममा भएका सहमतिले नेपाल र अमेरिका सम्बन्धलाई थप उचाईमा पुर्‍याउन भूमिका खेलेको चर्चा गरेका थिए ।

गृहमन्त्री थापाले नेपाल राजनीतिक स्थिरतासँगै अब तीव्र आर्थिक विकासको चरणमा प्रवेश गरेको जानकारी दिँदै यसमा अमेरिकी सरकार र जनताको सहयोगका लागि उपसहायकमन्त्री रेन्जसँग आग्रह गरेक थिए । अमेरिकाले ‘मिलिनियम च्यालेन्ज कोपरेशन’ मार्फत नेपाललाई प्रदान गरेको आर्थिक सहयोगले नेपालको आर्थिक विकास तथा विद्युतिकरणका लागि महत्वपुर्ण हुने गृहमन्त्रीको भनाइ थियो ।

भेटमा उपसहायकमन्त्री रेन्जले नेपाल र अमेरीकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप उचाईमा लैजान आवश्यक रहेको बताएका थिए । उनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, मानवबेचबिखन लगायतका क्षेत्रमा अमेरिकाले सहयोग गरीरहेको बताउँदै त्यो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उपसहायकमन्त्री रेन्जले अमेरिकी स्वयंसेवी समूह ‘पिस कर्पस’को प्रवेशाज्ञाको समयावधि थप तथा नेपालको अध्यागमन प्रणालीको स्तरोन्नतीका लागि सहयोग लगायतका विषयमा समेत गृहमन्त्री थापासँग कुरा राखेका थिए । भेटवार्तामा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरीको पनि उपस्थिति थियो ।

प्रकाशित मिति: May 15, 2019

प्रतिक्रिया दिनुहोस्