Logo
|| May 15, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेरोजगार युवालाई स्वरोजगार बनाउन शुरु भयो १ महिने तालिम

बेरोजगार युवालाई आफ्नै देशमा स्वरोजगार बनाउने उद्देश्यले खोटाङको रावाबेँसी गाउँपालिकामा सवारी चालकसम्बन्धी तालीम शुरु गरिएको छ । गाउँपालिकाका ३० बेरोजगार युवालाई सवारीसाधन चलाउन सिकाएर स्वरोजगार बन्न उत्प्रेरित गर्ने उद्देश्यले एक महीने तालीम शुरु गरिएको हो ।

गाउँपालिकाको आर्थिक सहयोगमा कान्तिपुर ड्राइभिङ ट्रेनिङ सेन्टर प्रालिले आयोजना गरेको सवारी चालक तालीममा पहिलो चरणअन्तर्गत हलुका सवारीसाधन चलाउन सिकाइने जनाइएको छ । तालीममा सहभागीलाई दक्ष चालक बनाउन ह्याभी ९ठूला सवारी० चलाउन सक्नेगरी अर्को चरणको तालीमसमेत दिइने गाउँपालिकाले जनाएको छ ।

तालीममा गाउँपालिकाका छ वडाका पाँच/पाँचका दरले १८ वर्षदेखि ३७ वर्ष उमेर समूहका युवाको सहभागिता रहेको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए । “रोजगारीको अभावमा युवाशक्ति विदेशिनेक्रम बढ्दो छ”, उनले भने, “बढ्दो युवाशक्ति विदेशिनेक्रमलाई न्यूनीकरण गर्दै आफ्नै देशमा स्वरोजगार बनाउन तालीमको व्यवस्था गरिएको हो ।”

रावाबेँसी गाउँपालिका-३ लामीडाँडामा सञ्चालन गरिएको तालीममा हलुका सवारीसाधनअन्तर्गत जिप हाँक्ने तालीम सञ्चालन भइरहेको छ । उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका महिला, दलित, अपाङ्गता भएका व्यक्तिलगायतलाई समेत स्वरोजगारमूलक तालीमको व्यवस्था गरेको छ ।

महिलाका लागि ढाका बुनाइ तथा सिलाइ/कटाइ, दलितका लागि आरन व्यवस्थापन तथा आधुनिक औजार निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि उनीहरुको क्षमताअनुसार तालीमको व्यवस्था गरिएको गाउँपालिका प्रमुख निरौलाले बताए ।

जीवन निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक र व्यावसायिक बनाउनसमेत गाउँपालिका लागिपरेको जनाइएको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार १२:०८

प्रतिक्रिया दिनुहोस्