Logo
१२ बैशाख २०८१, बुधबार
(May 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैन, बरु संशोधन हुन्छ’ : मन्त्री बाँस्कोटा

चितवन : सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने अडान दोहोर्‍याएका छन । चितवनको सौराहामा मंगलबार नेपाल टेलिकमको एफटिटिएच सेवा उद्घाटन कार्याक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले विधेयक कुनै पनि हालतमा फिर्ता नहुने बताएका हुन ।

पत्रकारितालाई थप व्यवस्थित बनाउन विधेयक ल्याइएकाले आवश्यक परे संशोधन गर्न तयार रहेको तर फिर्ता नहुने बताए । उनले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम सरकारले नगर्ने जिकिर गर्दै पत्रकारको खोल ओढेर आतंक फैलाउनेमाथि कानुनी कारवाही हुने पनि चेतावनी दिएका छन ।

पत्रकारको न्यूनतम पारिश्रमिक, समानुपातिक विज्ञापनप्रणाली लगायत आर्थिक स्वतन्त्रताको कुरा विधेयकमा उल्लेख गरिएकाले प्रमाणसहित समाचार लेख्दैमा पत्रकारलाई अफ्ठ्यारो नपर्ने मन्त्री बाँस्कोटाको दावी छ। नेपालसहित अन्तर्राष्ट्रिय अनुभव, प्रणाली र व्यवस्थालाई पनि मध्यनजर गरी सरकारले सवै क्षेत्रलाई समयसापेक्ष व्यवस्थित बताउने अभियानअन्तर्गत विधेयक आएको उनको भनाई थियो ।

समाजलाई, राज्यलाई, मुलुकको शान्तिलाई चुनौती दिने गरी, खलल पुर्‍याउने किसिमका सामग्री पनि कहिँकतै आउने गरेको भन्दै उनले भने ‘कलम छ । बन्दुक छ भन्दैमा जहाँ पायो त्यही हान्न भएन नी। प्रेसमाथि नियन्त्रण हुँदैन । बरु नियमन हुन्छ।’ मन्त्री बाँस्कोटाले सरकारले समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेकाले परिणामका लागि केही समय धैर्य गर्नुपर्ने बताए ।

दृढ संकल्प, इच्छाशक्तिका साथ के गर्ने, कहिले गर्ने, कसरी गर्ने, कहाँ गर्ने लगायत विषयमा स्पष्ट रहेकाले एक दिन नयाँ नेपालको वास्तविक चित्र संसारलाई देखाउने विश्वास व्यक्त गरे । उनले मुलुकका सवै नागरिकलाई चाँडै सूचना, सञ्चार प्रविधिको पहुँचमा ल्याइने बताए। टेलिकमले विभिन्न स्थानमा सेवा विस्तार, सुधार गरी नेपाललाई विश्वमा जोड्न हरतरहले काम गरिरहेको उल्लेख गरे ।

मन्त्री बाँस्कोटाले उक्त सेवाको रत्ननग नगरपालिकाका प्रमुख नारायण वनलाई फोन सम्पर्क गरी शुभारम्भ गरेका थिए। मंगलबारबाट शुभारम्भ भएको १ हजार लाइन एफटिटिएचमार्फत सौराहाका होटल व्यवसायी तथा पर्यटक लगायत सवैलाई सेवा पुर्‍याउने नेपाल टेलिकमका प्रवन्ध निर्देशक दिल्लीराम अधिकारीले बताए।

प्रकाशित मिति: May 14, 2019

प्रतिक्रिया दिनुहोस्