Logo
८ बैशाख २०८१, शनिबार
(May 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कबड्डी कबड्डी कबड्डी’का लागि दयाहाङ, कर्मा र उपासना एकसाथ आउँदै

काठमाडौँ :  नेपाली सिनेमा क्षेत्रमा दर्शकहरुले निकै रुचाएको ब्राण्ड नै बनेको सिरिज हो ‘कबड्डी’ । केही समय यता लोकप्रिय नायक प्रदिप खड्काको फिल्ममा अभिनय गर्न लागेको खबरले पनि यसको चर्चा थप चुलिएको थियो । तर विविध कारणले प्रदिपले यस फिल्ममा काम गर्न सकेनन् । तर अब कबड्डी कबड्डी कबड्डी मा स्टारकास्टको लाईनअप पुरा भएको छ ।

आज राजधानीमा एक कार्यक्रमकाबीच फिल्मको औपचारिक घोषणा गरिएको छ । कबड्डी कबड्डी कबड्डीमा चर्चित अनि लोकप्रिय नायक दयाहाङ राई यथावत रहेका छन् भने कर्मा र क्याप्टेन फेम नायिका उपासना सिंह ठकुरीले फिल्ममा प्रबेश पाएका छन् । उपासनाले यस फिल्मको हिस्सा हुन पाएकोमा आफुलाई भाग्यमानी मानेको बताएकीछिन् ।

बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको यस फिल्ममा जातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई समेटिनेछ । पोखरा, मुस्ताङ र अन्नपूर्ण आधार शिविर वरपर सुटिङ हुने यस फिल्मबाट निर्माता रौनक विक्रम कँडेल बाहिरिएपछि रामबाबु गुरुङले आफ्नै ब्यानर सिनेमा आर्टबाट फिल्म निर्माण गर्दैछन् ।

कबड्डी लोकप्रिय सिक्वेल हो जसको प्रिक्वेलले राम्रो कलेक्सन पनि गरेको थियो । मुस्ताङी आञ्चलिकतामा केन्द्रित हुने फिल्म जेठ ५ गतेदेखि फ्लोरमा जाँदैछ । फिल्मलाई रामबाबुले नै निर्देशन गर्दैछन् । फिल्ममा यी कलाकारसंगै रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

फिल्ममा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथा रहेको छ । पक्कै पनि कबड्डी फिल्म दर्शकहरुले निकै रुचाएको फिल्मको ब्राण्ड हो । त्यसमाथि पनि यी स्टारकास्टको कारण फिल्म अझै प्रतिक्षित रहनेछ । फिल्म यस बर्षको तीज वा दशैँ जुन सुकै बेलामा पनि रिलिज हुन सक्ने निर्माण टिमको भनाई छ ।

प्रकाशित मिति: May 14, 2019

प्रतिक्रिया दिनुहोस्