Logo
१२ बैशाख २०८१, बुधबार
(May 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमै पहिलोपटक ‘लोकवार्ता विज्ञान’को अध्ययन अध्यापन शुरु

सुर्खेत : नेपालमै पहिलोपटक मध्यपश्चिम विश्वविद्यालय, कर्णाली प्रदेश सुर्खेतमा ‘लोकवार्ता विज्ञान’ विषयको अध्ययन अध्यापन शुरु भएको छ । मानविकी तथा समाजिक शास्त्र सङ्कायअन्तर्गत मध्यपश्चिम विश्वविद्यालय सुुर्खेतले सोमबारबाट ‘लोकवार्ता विज्ञान’ को अध्ययन अध्यापन शुरु गरेको हो ।

चार सेमेष्टरमा शिक्षण गराइने उक्त विषयको अवधि दुई वर्ष हुने मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन खोपीराम लम्सालले जानकारी दिए । नेपालमै पहिलोपटक कर्णालीबाट नौलो विषय ‘लोकवार्ता विज्ञान’ शुरुआत हुनुले गौरवान्वित बनाएको बताउँदै डिन लम्सालले भने, “यसको अध्ययन अध्यापनले यहाँको मौलिक संस्कार, संस्कृति, सम्पदा र सभ्यताको मात्र अनुसन्धान हुने छैन, समुदायमा विद्यमान जनबोली, सामाजिक विश्वास, कला, साहित्य, विभिन्न पर्व, धर्म र परम्परागत प्रथाहरुको खोज र अन्वेषण पनि गर्नेछ ।”

“कर्णाली बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त प्रदेश हो”, उनले थपे, “यसको अध्ययन अध्यापनले यहाँको इतिहास, पुरातत्व र संस्कृतिलाई उत्खनन, पहिचान, संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।” त्यसका साथै कर्णाली प्रदेशमा अवस्थित मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय पहिचान दिने जनशक्ति उत्पादन गर्ने उनको जिकिर थियो ।

उनका अनुसार प्राचीन सिल्करोड, सिञ्जा सभ्यता र कर्णालीको मौलिक संस्कृतिको समेत अध्ययन अनुसन्धान हुने भएकाले नयाँ आयाम थपिने छ । पहिलोपटक प्रारम्भ गरिएको ‘लोकवार्ता विज्ञान’ले कर्णाली र नेपाल मात्र नभई दक्षिण एशियाकै परम्परागत संरचना, संस्कृति, संस्कार र मौलिकताको खोज अनुसन्धानसहित राष्ट्रियताको बोध गराउने जनाइएको छ । रासस

प्रकाशित मिति: May 14, 2019

प्रतिक्रिया दिनुहोस्