Logo
|| May 14, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको सम्मानमा कम्बोडियामा गार्ड अफ अनर (फोटोफिचर)

कम्बोडिया :  द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा नेपाल र कम्बोडियाले सहमति गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भयो।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा हस्ताक्षर गरे। त्यसैगरी नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्सबीच पनि समझदारीपत्रमा हस्ताक्षर भयो। दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा पिस प्यालेसमा भएको समझदारीपत्रमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बरका उपाध्यक्ष लिम गङले हस्ताक्षर गरेका थिए।

त्यसअघि प्रधानमन्त्री ओली र उनका कम्बोडियाली समकक्षी समवेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनबीच सोमबार राजधानी नोमपेन्हस्थित पिस प्यालेसमा भेटवार्ता भएको थियो। प्रधानमन्त्री ओलीलाई कम्बोडियाली प्रधानमन्त्री हुन सेनले पिस प्यालेसमा स्वागत गरेका थिए। प्रधानमन्त्री ओलीको सम्मानमा कम्बोडियाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

सो अवसरमा प्रधानमन्त्रीद्वयले पहिले एक्लाएक्लै र पछि प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए। दुई देशबीच द्विपक्षीय सम्बन्ध सुुदृढ गर्ने, सहयोग विस्तार गर्ने र पर्यटन प्रवर्धन गर्ने लगायत विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री ओली कम्बोडियाका समकक्षी हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको भ्रमणमा छन्। उनका साथ धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, सांसद, उच्चपदस्थ सरकारी अधिकारीलगायत छन्। प्रधानमन्त्री ओली भोलि स्वदेश फर्किने कार्यक्रम छ ।

 

 

 

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलवार ११:३२

प्रतिक्रिया दिनुहोस्