Logo
१२ बैशाख २०८१, बुधबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन सक्दो सहयोग गर्ने राष्ट्रियसभा अध्यक्षको प्रतिवद्धता

काठमाडौ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदमा प्रस्तावित मिडिया काउन्सिलसम्बन्धि विधेयकमा समावेश गरिएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले सोमबार सिंहदरवारमा सो विधेयकमा राखिएका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन माग गर्दै ध्यानाकर्षणपत्र बुझाउन गएका नेपाल पत्रकार महासंघको नेतृत्वसँग सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै सो विधेयकलाई पारित गराउने पनि स्पष्ट पारे । उनले सो विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउनका लागि संशोधन प्रस्ताव दर्ता गराउन राष्ट्रियसभाका सांसदहरुलाई आग्रह गर्न पनि महासंघको नेतृत्वको ध्यानाकर्षण गराए । लोकतन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका पुरक भएकाले त्यसको विरुद्धमा जाने कामलाई संघीय संसदले आफ्नो विधि र प्रक्रियाभित्रै रहेर सच्याउने अध्यक्ष तिमिल्सिनाको भनाई छ ।

अध्यक्ष तिमिल्सिनाले सो विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफल हुने भएकाले त्यसमा नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायसँग छलफलका लागि पर्याप्त समय दिन आफूले पहल गर्ने पनि बताए । उनले सरकारले ल्याएको कुनै पनि विधेयक संसदमा प्रशस्त छललफल गरेर मात्रै पारित हुने विधि र प्रक्रियाका विषयमा पनि महासंघको नेतृत्वलाई स्मरण गराए । यता, महासंघका अध्यक्ष गोविन्द आचार्यले भने महासंघसहित सरोकारवाला निकायसँग छलफल नै नगरी ल्याइएको सो विधेयक रोक्न अध्यक्ष तिमिल्सिनाको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

उनले लोकतन्त्रमा पनि सरकारले प्रेस स्वतन्त्रा विरोधी प्रावधान राखेर कानुन बनाउन लागेकाले महासंघले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको पनि स्पष्ट पारे । सो विधेयकमा ‘कुनै व्यक्तिको मानहानी हुनेगरी समाचार सम्प्रेषण गरिए १० हजारदेखि १० लाखसम्म जरिवाना हुने’ प्रावधान राखिएकोमा नेपाल पत्रकार महासंघको आपत्ति छ । महासंघले विज्ञान तथा सूचना प्रविधिसम्बन्धि विधेयक पनि संविधानको प्रावधान विपरित आएको भन्दै सरकारको चर्को आलोचना गर्दै आएको छ

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्