Logo
१५ चैत्र २०८०, बिहीबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगञ्जमा संघको नवनिर्मित कार्यालय भवन ‘केशव धाम’ लोकार्पित

वीरगञ्ज : हिन्दू स्वयंसेवक संघ नेपाल, वीरगञ्जद्धारा नवनिर्मित कार्यालय भवन ‘केशव धाम’ को आज लोकार्पण भएको छ । लोकार्पण समारोहमा आफ्नो उद्बोधनमा प्रमुख अतिथि दत्तात्रेय होसबालेले भौतिक निर्माणसँगै हामीले सामाजिक-सांस्कृतिक चरित्र निर्माणको हाम्रो स्वप्नलाई पनि जागृत राख्नुपर्ने बताए ।

वीरगञ्ज बाईपास रोड, गणेश टोलमा निर्मित भवनको प्राङ्गणमा आयोजित एक समारोहबीच राष्ट्रीय स्वयंसेवक संघ, भारतका सह सरकार्यवाह दत्तात्रेय होसबाले र हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय संघचालक हेमशर्मा आचार्यले संयुक्त रूपमा कार्यालय भवनको लोकार्पण गरेका हुन् ।

‘भवन निर्माणको एउटा स्वप्न अवश्य पूर्ण भएको छ, तर यो संसाधन थपिएसँगै हाम्रो जिम्मेदारी पनि बढेको छ । केन्द्रका रूपमा विकसित हुने यो भवनले हामीलाई सदैव हाम्रो कार्य, हाम्रो समाज र संस्कृतिप्रतिको कर्तव्यको स्मरण गराउनेछ भन्नेमा म विश्वस्त छु’ होसबाले भने ।

व्यक्तिगत एवं सामाजिक दृष्टिले मानवीय मूल्यका पोषक एवं रक्षकका रूपमा हामी हिन्दूहरूको विशेष दायित्व रहेको बताउँदै होसबालेले यसका निम्ति पहिले हामी तत्परताका साथ उठ्नु, जाग्नुपर्ने बताए । हामी अघि सरेर मात्र विश्व बन्धुत्व, विश्व कल्याण एवं विश्व शान्तिको हाम्रो सांस्कृतिक अभियानले सार्थकता पाउने उनको ठम्याई थियो ।

यससँगै उनले भने, ‘संघको शाखा कार्यको विस्तारको अनुपातमा कार्यालय भवनको तला थपिनु पर्छ, यसर्थ अब हिन्दू स्वयंसेवक संघ नेपालका कार्यकर्तासामु संघको शाखाकार्य विस्तार गर्ने महत्वपूर्ण चुनौती र जिम्मेदारी थापिएको छ । यसलाई यहाँहरू सबैले बोध र आत्मसात गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।’

यसअघि कार्यक्रममा भूमि दाता राजकुमार गुप्ता, भवन निर्माण संयोजक अशोक वैद्य, र संघका राष्ट्रिय संघचालक हेमशर्मा आचार्यको उद्बोधन रहेको थियो । लोकार्पण समारोहमा संघका राष्ट्रिय प्रचारक वेद प्रकाश, राष्ट्रिय सह प्रचारक रेवित कुमारसहित संघका पदाधिकारी, वीरगञ्ज नगरका गण्यमान्य व्यक्तित्व, मातृशक्ति तथा देशका विभिन्न केन्द्रबाट आएका संघका कार्यकर्ताहरूको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्