Logo
१३ बैशाख २०८१, बिहीबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य अलर्ट : रेबिज के हो ? यसबाट बच्न अपनाउनुहोस् यस्तो सतर्कता

काठमाडौँ :  रेबिज प्राणघातक सरुवा रोग हो । यो रोग बहुला कुकुर वा अन्य शङ्कास्पद जनावरको टोकइपछि मानिसमा सर्ने गर्छ । त्यस कारण यस रोगलाई जुनोटिक रोग पनि भनिन्छ ।

रेबिज रोग कुनै पनि प्रकारका उष्ण रगत युक्त प्राणीहरुमा यो रोग लाग्न सक्दछ । यो रोग चिकित्सा विज्ञानको धेरै पुरानो रोग भएको र हाल यस रोग चुनौतीका रूपमा रहेको पाइन्छ । यो रोगबाट विश्वमा बर्सेनि ५५ हजार मानिस तथा दक्षिण एसियामा ३० हजार तथा नेपालमा बर्सेनि १०० जनाको मृत्यु हुने गरेको अनुमान छ ।

नेपालमा यो रोग प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । यो रोग मुख्यतः बहुला कुकुर वा शङ्कास्पद जनावर वा जङ्गली जनावर खास गरी (स्याल, न्याउरीमुसा, फ्याउरो, चितुवा) आदि जनावरको टोकाइपछि समयमा उपचार नगरेको कारणबाट सर्ने गर्छ ।

यो रोगमा बिरामीलाई प्यास लाग्छ तर घाँटीमा स्नायु नसाको पक्षघातले गर्दा पानी निल्न सक्दैन । मुखमा पानी पार्न साथ डराउने हुन्छ । बहुला जनावरले टोकेपछि त्यसको विषाणु घाउको माध्यमबाट स्नायु नसा, सुषम्ना हुँर्दै मस्तिष्कमा पुगेर बुद्धि विकास भएपछि रेबिज देखापर्छ ।

रेबिज रोगको चक्र

यो रोगको चक्र खासगरी सहरी तथा जङ्गली चक्र हो । नेपालमा यो रोग जङ्लगी मांसाहारी जनवार मुख्यतया स्यालको टोकाइबाट सामुदायिक कुकुर, भुस्याहा कुकुरको माध्यमबाट मानिसमा सर्ने गरेको पाइन्छ । रेबिज रोगको मुख्य संवाहक कुकुर नै हो । बढी जनघनत्व, भुस्याहा जनावरको सङ्ख्या बढी र जङ्गली जनावरको घनत्व बढी भएको तराई, भित्री मधेस तथा पहाडी क्षेत्र रेबिजको दृष्टिकोणले जोखिमपूर्ण मानिन्छ ।

शङ्कास्पद कुकुर वा जनावर वा बहुला कुकुरले टोकेपछि उपनाउनुपर्ने सावधानी

-शङ्कास्पद कुकुर, जनावर वा बहुला कुकुरले टोक्नासाथ तुरुन्तै साबुन पानी, सम्भव भए मनतातो पानी र साबुनले वा सम्भव भए धाराको फोर्सले बगिरहने पानी यदि त्यो पनि सम्भव नभएको खण्डमा मगमा पानी राखेर फोर्सले साबुन पानीले तुरुन्तै धुनुपर्छ । डिटोल वा अन्य एन्टिसेप्टी झोल पदार्थ लगाउनुपर्छ । रगत बग्ने गरी घाउ भएमा वा खरोच भएमा २४ घण्टाभित्रमा टिटनस को सुई पनि लिनुर्छ । यसो गर्दा रेबिजका बिषाणुहरु शरीरभित्र प्रवेश गर्नबाट रोक्न सकिन्छ । घाउ पाक्ने सम्भावना भएमा एन्टिबायोटिक औषधि दिनुपर्छ । यसरी उपचार गरेमा रेबिज लाग्नबाट बच्न सकिन्छ ।

– सम्भव भएसम्म १० दिनसम्म टोक्ने जनावर वा कुकरको निगरानी गरिनुपर्छ ।

– रेबिज विशेषज्ञ वा चिकित्सकको सल्लाहका लागि नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा चाँडो सम्पर्क राख्नुपर्छ ।

शङ्कास्पद कुकुर वा जनावर वा बहुला कुकुरले टोकेपछि गर्न नहुने कार्य

-कुनै पनि शङ्कास्पद कुकुर वा जनावर वा बहुला कुकुरले टोकेपछि जडीबुटी दल्ने, नुनखुर्सानी दल्ने, धामीझाँक्री कहाँ जाने वा अन्य परम्परा विधिबाट उपचार गर्ने जस्ता कार्यहरु गर्नुहुँदैन ।

-घाउमा टाँका लगाउनु हुँदैन । तत्काललै ड्रेसिङ पनि गर्न मिल्दैन ।

रेबिजविरुद्ध खोप लिनुपर्ने अवस्था

  • टोक्ने जनावरमा १० दिनभित्र रेबिजको लक्षण देखिएमा वा प्रयोगशालाबाट रेबिज प्रमाणित भएमा ।
  • टोक्ने जनावर चिनिएन, १० दिनभित्र मरेमा वा मारियो वा बेपत्ता भएमा, हराएमा ।
  •  मांसाहारी जङ्गली जनावरले आकस्मात आक्रमण गरी घाइते बनाएमा ।
  • बहुला जनावरको र्याल आलो घाउ भएको भागमा लागेमा ।
  • रेबिजको लक्षण भएको व्यक्तिले टोकेमा वा आँखामा नै पर्ने गरी थुकेमा ।
  • रेबिज रोगीको जुठो खाएमा वा अन्य सम्पर्कमा रेबिज विशेषज्ञ, चिकित्सकको सल्लाहबाट मात्रै खोप लिनुपर्छ ।                                                                साभार रेबिज गाइड बुक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्