Logo
१२ बैशाख २०८१, बुधबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओसेनिया क्षेत्रीय बैठक : नेपालमा सक्दो लगानी गर्ने प्रतिबद्धताका साथ गरियो ९ निर्णय

सिड्नी : गैरआवासीय नेपाली संघ (एनआरएन) तेस्रो ओसेनिया क्षेत्रीय बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ । अस्ट्रेलियाको सिड्नीमा सम्पन्न बैठकले सामूहिक लगानी फण्डमार्फत नेपालको जलविद्युतलगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता गरेको छ।

यस्तै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम संचालन गर्ने, महिला शशक्तिकरण अभियानको थालनी र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने कार्ययोजना ल्याउने, विदेशमा रहेका नेपाली ज्ञाताहरुको सिप, ज्ञान र प्रविधिलाई नेपालको विकासमा लगानी गर्ने वातावारण बनाउने निर्णय बैठकले गरेको छ ।

ओसिनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाल र अस्ट्रेलिया बीचमा आपसी सहयोग सद्भावलाई कायम राख्न अस्सीमेड फाउन्डेसन अष्ट्रेलिया र नेपाल साइन्स फाउन्डेसनबीच सहकार्य गर्नेगरी समझदारी पनि उल्लेख गरिएको छ।

यस्तै ओसेनिया क्षेत्रमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मुलधारमा समाहित विशेष कार्यक्रम सञ्चालन गर्दै नेपाली बालबालिकालाई नेपाली भाषा सस्कार संस्कृति सिकाउने कार्यक्रमहरु तय गर्ने निर्णय पनि बैठकले गरेको अधिकारीले जानकारी दिए ।

बैठकले एनआरएन नेपाली नागरीकता वितरण गर्न र नागरिकता प्राप्त व्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरी सम्पूर्ण ब्यबस्था ऐनमै गर्न सरकारलाई अनुरोध गरेको छ । शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको प्रमुख अतिथ्यता रहेको थियो ।

 

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्