Logo
१३ बैशाख २०८१, बिहीबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्स्टाग्राममा विवादित बनेको ‘लाइक ‘ हटाउने तयारी

युवाहरुमाझ अत्यन्तै लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्रामले मंगलबार एउटा नयाँ परीक्षण गर्न गइरहेको घोषणा गरेको छ । आगामी हप्तादेखि क्यानडाबाट सुरु गरिने सो परीक्षणमा इन्स्टाग्रामले प्रयोगकर्ताका भिडियो र तस्बिरहरुबाट लाइक लुकाइदिने जनाएको छ ।

‘हार्ट’ को आकारमा लाइक देखाउँदै आएको सो एपले अब मुख्य फिडबाट लाइकको सङ्ख्या हटाउने भएको हो । यस्तोमा प्रयोगकर्ताहरुले आफुले फलो गरिरहेको व्यक्तिको पोस्टले कति लाइक प्राप्त गरेको छ भन्ने देख्न सक्ने छैनन् र जसको त्यो अकाउन्ट हो उसले मात्र आफ्नो पोस्टका लाइकहरु हेर्न पाउनेछ ।

इन्स्टाग्रामका प्रवक्ता भन्छन्, “वास्तवमा सबै प्रयोगकर्ताहरु कसको तस्बिरमा कति लाइक आयो भन्नेमा मात्र केन्द्रित नरहेर हामीले शेयर गरेका भिडियो र तस्बिरमा पनि उनीहरुको ध्यान जाओस् भन्ने उद्देश्य लिएर हामीले यस्तो परीक्षण गर्न लागेका हौँ ।” यो खबर सेन जोसस्थित फेसबुकको वार्षिक डेभलपर सम्मेलन, एफ–एट मा सार्वजानिक गरिएको हो ।

यसरी यो परीक्षणले प्रयोगकर्ताहरुबाट आक्रामक देखि प्रोत्साहन सम्मका थरीथरी प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ । किनकी पछिल्लो समय लाइकलाई लोकप्रियताको नाप्ने यन्त्रका रुपमा प्रयोग गर्न थालिएको छ । यस्तोमा कतिपय इन्स्टाग्राम प्रयोगकर्ताहरु आफ्ना पोस्टमा लाइक बढाउन दबाबमा आउने गरेका छन् भने पर्याप्त लाइक नपाउनाले धेरैको आत्मविश्वासमा पनि प्रभाव पार्ने गरेको छ । यस सम्बन्धी गरिएका केही अनुसन्धानहरुका अनुसार इन्स्टाग्राम युवा पुस्ताहरुको मानसिक स्वास्थ्यका लागि सबैभन्दा हानिकारक एप मानिएको छ ।

नर्थवेस्टर्न युनिभर्सिटीका साइकोलोजी प्रोफेसर रेनी एग्लन भन्छिन्, “लाइकलाई धेरै शक्तिशाली मान्न सकिन्छ किनकी लाइक भनेको तत्काल दिइने प्रतिक्रिया हो । त्यसैले लाइकले तपाईँलाई जुवा खेलिरहेको मानिसले सही निशाना लगाउँदा त्यस्तै खुसीको अनुभूति गराउन सक्छ ।”

एन्ग्लनका अनुसार केही युवतीहरुले पर्याप्त लाइक नपाए उनीहरुको दिन नै खराब हुने गरेको समेत बताउने गरेका छन् । त्यस्तो अवस्थामा उनीहरुले कतिपटक फोटो नै डिलिट गरिदिने गरेको उनको भनाइ छ । त्यसैले लाइकको सङ्ख्या हटाउनाले प्रयोगकर्तालाई तस्बिरबारे कम दबाब हुने र उनीहरु राम्रो सामग्री पोस्ट गर्नमा बढी केन्द्रित रहन सक्ने बताइएको हो । तर विश्लेषकहरले यसलाई पूर्ण समाधान मान्न नसकिने बताइरहेका छन् ।

सामाजिक संजाल र मोबाइल मार्केटिङमा केन्द्रित पेस युनिभर्सिटीका प्रोफेसर र्यान्डी पिर्लक भन्छन्, “किशोरहरुका लागि यो एकदम फाइदाजनक हुनेछ किनकी यसपछि उनीहरुले लोकप्रियताका आधारमा आफूलाई अर्को व्यक्तिसँग तुलना गरिरहनु पर्ने छैन । तरपनि उनीहरुले आफूले पाएको लाइक देख्नेहुँदा यसबारेमा हुने प्रतिस्पर्धा कायमै रहनेछ । त्यसैले यसले समस्याको पूर्ण समाधान दिलाउन सक्ने छैन ।”

त्यस्तै यसले दुव्र्यवहार, एक्ल्याइने र अरुको जीवन आफ्नो भन्दा राम्रो छ भन्ने भाव विकास गराउने लगायतका समस्याहरुप्रति पनि कुनै ध्यान दिएको छैन । यसअघि ट्वीटरले पनि यिनै कारण लाइकको सङ्ख्या अदृश्य बनाउनेबारे विचार गरिसकेको छ ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्