Logo
७ बैशाख २०८१, शुक्रबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनलाईन प्रणालीको नाममा प्रदेश २ का मालपोत कार्यालयहरुमा खुल्लेआम घुषखोरी

सप्तरी : प्रदेश २ स्थित सप्तरीको राजविराज स्थित मालपोत कार्यालयमा खुल्लेआम घुस लिने गरेको गुनासाहरु नौलो होइनन् । सेवाग्राहीको काम गरे वापत सम्वन्धित फाँटका कर्मचारीले गैरकानूनी रुपमा रकम लिने गरेको आरोप मालपोत कार्यालयले वर्षौंदेखि खेप्दैआएको छ ।

सेवाग्राहीहरुको अत्यधिक चाप रहने उक्त कार्यालयमा रजिष्ट्रेशन, नामसारी, अंशबण्डा लगायतका कामहरु हुँदैआएको छ । कर्मचारीहरु घुस माग्छन् या सेवाग्राहीले नै घुस दिन्छन् ? यस विषयमा खोजी गर्दै जाँदा भित्री रहस्य भने अर्कै पाईएको छ । यस्तै मालपोत कार्यालय सप्तरीमा पछिल्लो केही महिनादेखि सेवाग्राहीहरुलाई सहज तरीकाबाट कामकाज गर्ने उदेश्यले अनलाईन प्रणालीको शुभारम्भ गर्यो ,तर पनि सेवाग्राहीको काम बिना घुसको हुँदैन ।

एकातिर सेवाग्राहीहरुलाई सहज सेवा दिनका लागि शुभारम्भ गरिएको अनलाईन प्रणालीको नाउँमा सेवाग्राहीहरुलाई झन सेवा दिनमा ढिलाई गरी मालपोत कार्यालयका कर्मचारीहरुले मोटो रकम असुल्दै आईरहेका छन । मालपोत कार्यालयमा काम गर्ने बिचौलिया अर्थात लेखापढीहरुको सेटिङ्ग पहिला देखि नै मिलेका कारणले जिल्लाको विभिन्न नगरपालिका तथा गाउँपालिकाबाट आउने सेवाग्राहीहरुले अनलाईन प्रणालीको टोकन लिनका लागि फायल लगाएको चार दिन पछि पनि काम हुँदैन, तर मालपोत कार्यालयका बिचौलियाहरुले पैसा दिएर एक दिनमै सो टोकन लगाउने कार्य खुल्लेआम रुपमा गरीरहेका छन ,मालपोत कार्यालय सप्तरीमा ।

तर पनि कार्बाही गर्ने निकाय कानमा तेल हालेर सुतेका हुन्छन । एकातर्फ सरकारले जनतालाई छिट्टो छरितो सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दैआएको छ भने अर्कोतर्फ कार्यालयमा रहेका दरबन्दी घटाउँदै लगेको छ । अत्यधिक कामको चाप रहने उक्त कार्यालयले एक दशकयता कर्मचारी अभावमा जनतालाई छिट्टो–छरितो सेवा प्रदान गर्न सकेको छैन । यहाँसम्म कि मालपोत कार्यालयमा तीन महिनासम्म धाउँदा पनि काम नभएको गुनासा गर्ने सेवाग्राहीको फेहरिस्त लामो छ । उक्त कार्यालयबाट काम सम्पन्न भएपछि सेवाग्राहीले युद्ध जिते जस्तो अनुभुती गर्छन् ।

कार्यालयमा प्रमुख मालपोत अधिकृत १ जना हुनुपर्नेमा वर्षौंदेखि निमित भएर मालपोत अधिकृतले कार्यालय धान्दैआएको छ । २ जना मालपोत अधिकृत हुनुपर्नेमा हाल १ जना, नायव सुब्बा ७ जना रहनुपर्नेमा पाँच जना मात्र कार्यरत छन् । यसैगरी खरिदार १० जना हुनुपर्नेमा हाल ६ जना मात्र कार्यरत रहेका छन् । रिक्त स्थानमा कर्मचारी पठाउन आफुहरुले पटक–पटक पत्राचार गर्दा पनि हालसम्म नपठाएकोले एक जना कर्मचारीले कहिलेकाही चार-चार ओटा फाँटको जिम्मेवारी सम्हाल्नु परेको कर्मचारीहरु बताउँछन ।

यस्तै माmपोत कार्यालयमा श्रेस्ता र मोठ फाँटमा कामको अत्यधिक लोड रहने गरेकोले कर्मचारी अभावले सेवाग्राहीलाई छिट्टो–छरितो सेवा प्रदान गर्न नसकेको स्वीकार्छन् कर्मचारीहरु । १० ओटा मोठ फाँट रहेकोमा २ जनाले भ्याउनुपर्ने अवस्था रहेको एक कर्मचारीको दुःखेसो रहेको छ । मालपोत कार्यालयमा काम गराउन आएका सेवाग्राहीलाई कुन फाँटमा जाने ? काम गराउने प्रक्रिया बुझ्नै गाह्रो छ । सर्वसाधारण जनता विभिन्न काम लिएर कार्यालय जान्छन् ।

विभिन्न फाँटहरु धाउँदाधाउँदै सेवाग्राही वाक्क हुन्छन् । काम गराउने तरिकाबारे जानकारीको अभाव तथा समयमा काम नभएपछि दुई चार दिनको दौडधुपपछि थकित हुन्छन् सेवाग्राही । चाँडै काम गराएर फर्किने आशमा दिनहुँजसो कार्यालय धाउँदैआएका सेवाग्राहीलाई त्यहिँ घुमिरहेका दलालहरुले काम तुरुन्तै काम गराईदिने भन्दै लेनदेनको कुरा गर्दै हातमा फाइल बोकेर काम गराईदिने गरेको एक सेवाग्राहीले बताउनुभएको छ । सेवाग्राहीहरुका अनुसार दलालले चर्को रकम लिएर केही अंश फाँटवालालाई समेत टक्र्याउँदै काम गराईदिने गर्छन् ।

यतिमात्र होइन, चाँडो काम गराउनकालागि केही सेवाग्राहीले आफै कर्मचारीलाई रकमको प्रस्ताव गरेर काम गराउने गरेको श्रोतले जनाएको छ । श्रोतका अनुसार केही सेवाग्राहीले भने काम गरिदिए वापत दर्ता चलानी लगायतका फाँटमा केही रकम खुशी भएर दिने गरेको पाईएको छ । दौडधुपको झन्झट लिनुभन्दा केहीले त शुरुमै सिधै कर्मचारी वा दलाल मार्फत रकम दिएर फाइल अगाडि बढाउने गरेको बताईएको छ ।

कर्मचारी अभाव लगायतका समस्याले जिल्लामै सर्वा्धिक ढिलासुस्ती तथा रकम लेनदेनका कारण मालपोत कार्यालय सर्वा्धिक चर्चामा रहँदैआएको छ । उक्त कार्यालयमा सेवाग्राही र कर्मचारी बिच झैं-झगडा हुनु समान्य जस्तै भईसकेको छ । यता सो सम्बन्धमा मालपोत कार्यालयका प्रमुख सिकेन्द्र साहले भुमिसुधार कार्यालय तथा मालपोत कार्यालय दुईटै मलाई हेर्नुपर्ने भएकाले केही समस्या भएको स्विकार्दै उहाँले कर्मचारी अभावका कारणले पनि यस्तो भईरहेको तथा सेवाग्राहीहरुलाई घुस नदिन अनुरोध समेत गर्नुभयो ।

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्