Logo
११ बैशाख २०८१, मंगलबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज मिथिलामा अक्षय तृतीया पर्व मनाइँदै

बर्दिवास :  भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौ र चनाको सातु एवं चिसोपानीको सर्बत खुवाउँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौ र चनाको सातु, सक्खर र चिसोपानीमा बनाइएको गुलियो सर्बत खुवाउने हिन्दु मैथिल परम्परा छ ।

अक्षय तृतीया भनिने यस पर्वमा गर्मीले आकुल-व्याकुल भएका पथिक (बटुवा) लाई शीतलता दिने जौ र चनाको सातु, सक्खर, चिसोपानीमा बनाइएको सर्बत र मिष्ठान्न परिकार खुवाएमा अक्षय (कहिल्यै नाश नहुने) पुण्य प्राप्त हुने मैथिल (मिथिलावासी) को जनविश्वास छ ।

यस पर्वमा गरीब र अभाव भोगी, खेपिरहेकालाई सातु राखिएका थैला र सर्बत राखिएको घडासहितै दान गर्ने परम्परासमेत रहेको मिथिला परम्पराका ज्ञाता महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ) का उपप्राध्यापक ध्रुव राय बताउँछन् ।

अक्षय तृतीया पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । भगवान शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कुलपुरोहित तथा गरीबलाई स्वर्ण, शीतल खाद्य परिकार र वस्त्र दान गरे कहिल्यै भण्डार खाली नहुने भविष्य पुराणमा बताइएको बर्दिवास-२ का बासिन्दा कर्मकाण्डका ज्ञाता महेशकुमार झाले बताए ।

गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सक्खर र चिनीमा बनाइएको शीतल सर्बत र पुष्टिवर्धक अन्न जौको सातुको प्रयोगमा अक्षय तृतीया पर्वले जोड दिएको छ । सुख र समृद्धिको प्रतीक हुनका साथै यो पर्वले स्वास्थ्य सन्देश दिएको बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विधानचन्द्र झाको भनाइ छ । पर्वले मौसअनुसार पुष्टिवर्धक भोजन गर्न सन्देश दिनुका साथै दीनदुःखी र भोकाएका, तिर्खाएकालाई सेवा दिन नैतिक सन्देशसमेत दिएको पाका मैथिल बताउँछन् ।

पर्वमा कुलपुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्ठान्न खाद्य परिकार र दक्षिणा दिएर आफू र परिवारले जीवनमा शीतलताको कामना गर्दै जौ, चनाको सातु र सर्बत खाएर यो पर्व समापन गरिने मैथिल परम्परा छ । भगवान शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीको अन्नप्रासन र विवाहलगायतका शुभकार्यका लागि अर्को साइत हेर्न नपर्ने आम मैथिल मान्यता छ ।

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्