Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अढाई वर्षीय बेपत्ता बालकको निर्ममतापूर्वक हत्या

सांकेतिक तस्बिर

धनुषा : मिथिला नगरपालिकामा अढाई वर्षीय बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ। मिथिला नगरपालिका-६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए ।

उनको खोजतलास अबेर रातिसम्म गरिए पनि फेला परेको थिएन। उनै बेपत्ता आर्यनको शव मङ्गलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए। आर्यनको शव घर नजिकैको बारीमा फेला परेको छ। शवको प्रकृति निकै दर्दनाक देखिन्छ।

आधा घाँटी काटेको अवस्थामा शव फेला परेको छ। ‘हामी अहिले मुचुल्का उठाउने काम गर्दैछौँ,’ प्रहरी निरीक्षक राईले भने, ‘घटनाको पूरा अनुसन्धान गरेपछि मात्रै थप भन्न सकिने अवस्था रहन्छ।’ आर्यन सोमबार साँझ हरियो रङ्गको टिसर्ट लगाएर घरमै खेलिरहेका थिए। उनी खेल्न थालेपछि परिवारका सदस्यले बालकलाई घरमै छाडेर घर नजिकैको धारामा पानी लिन गएका थिए। त्यही बीचमै आर्यन बेपत्ता भएका थिए।

बालक हराएपछि छिमेकी र गाउँले मिलेर खोजी शुरु गरेका थिए। पछि बालक हराएको जानकारी इलाका प्रहरी कार्यालय ढल्केवरलाई समेत दिइएको थियो। इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राईसहित गाउँलेले बालकको खोजी सोमबार रातिबाटै गरेका थिए। तर, बालक फेला परेका थिएनन् । खेतबारीतिर जान सक्ने भन्दै त्यसतर्फ पनि खोजी गरिएको तर पत्ता नलागेको राईको भनाइ छ ।

यसैबीच आज बिहान राति नै खोजिएको ठाउँ घर नजिकैको खेतमा उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक राईले बताए। बालकको घाँटी रेटेर निर्ममतापूर्वक हत्या भएको पाइएपछि अपहरण गरेर हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । अपहरणपश्चात हत्या किन र कसले गर्यो भन्ने केही खुल्न सकेको छैन ।

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्