Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लम्की बजार तनावग्रस्त,  झडपमा ७ जना प्रहरी घाइते

कैलाली : पूर्व-पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्की बजारमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि तनाव बढेको छ। ना ७ ख ९२३३ नम्बरको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले गरेको प्रदर्शनले उग्ररुप लिएको हो ।

प्रदर्शन उग्र भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गरेको छ । अवस्था नियन्त्रण बाहिर जान नदिन प्रहरीले अश्रुग्याससमेत प्रयोग गरेको छ। प्रदर्शनकारीका तर्फबाट प्रहार भएको ढुङ्गा लागेर ७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए।

प्रहरी जवान रामबहादुर बुढा, सुरत रावल, रामबहादुर बुढा, सहायक प्रहरी हवल्दार प्रेमसिंह धामी, बमबहादुर सुनार, फलाराम चौधरी, सन्दीप चौधरी घाइते भएका छन् । प्रदर्शनकारीको पक्षका लम्की बहुमुखी क्याम्पसका प्रेमराज मुडभरी पनि घाइते भएका छन् । घाइते सबैको अवस्था खतारमुक्त रहेको बताइएको छ।

स्थानीय लालरत्न अस्पतालमा घाइतेको उपचार भइरहेको छ। मृतकलाई उचित क्षतिपूर्ति र चालकलाई कारवाही गर्न माग गर्दै स्थानीयवासीले पूर्वपश्चिम राजमार्गको लम्की खण्ड अवरुद्ध गरेर प्रदर्शन जारी राखेका छन् । प्रहरीले ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Apr 30, 2019

प्रतिक्रिया दिनुहोस्