Logo
८ बैशाख २०८१, शनिबार
(April 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुल नहुँदा खोलापारीको गाउँ र वारीको गाउँको सम्बन्धबिच्छेद

विराटनगर : बाढीले भत्काएको पुल नबन्दा मोरङको बेलबारीका वासिन्दालाई आवतजावतमा समस्या पर्नुका साथै खोलापारीको गाउँ र वारीको गाउँको सम्बन्धबिच्छेद भएसरी भएको छ ।

२०७४ साउन २८ गते लोहन्द्रा खोलामा आएको बाढीले बेलवारी नगरपालिका ६ स्थित १ सय ७७ मिटर लामो पुल भत्काएको थियो । तर हालसम्म पुल नबन्दा बेलबारीको वडा नं १, २, ३ र ५ का वासिन्दा तीन घण्टासम्म हिँडेर कानेपोखरीसम्म पुगेर खोला तर्नुपर्ने बाध्यता छ ।

पुल निर्माण नहुँदा एम्बुलेन्सलगायतका साधन पनि पूर्वपश्चिम राजमार्ग प्रयोग गरी विराटनगर पुग्नुपर्ने बाध्यता रहेको स्थानीय राम कामतले बताए । हिउँदमा गाडीले खोला तर्न सक्ने भए पनि वर्षायाममा समस्या छ । ‘बर्खायाममा सिमानको गाउँसंगको आउजाउ पनि बन्द हुन्छ, केही आपत प¥यो भने, खोलापारीको गाउँ पुग्ने कम्तीमा तिन घण्टा लाग्छ’ उनले भने ।

पुल नहुदा बर्खाको बेलामा विद्यार्थी स्कुल जान पनि समस्या छ । बेलबारी ३ का रुद्र बुढाथोकीले सरकारी निकायले पुल निर्माणप्रति बेवास्ता गर्दा १ घण्टामा पुग्न सकिने विराटनगर पुग्न अहिले तीन घण्टासम्म लाने बताए । बुढाथोकीले भने, ‘खोलाले पुल भत्काएको यतिका समय भइसक्यो, पुल नहुँदा खोलापारीको गाउँ र वारीको गाउँको सम्बन्धबिच्छेद भएको छ ।’

सुनसरी-मोरङ सिचाई आयोजनाले पुल निर्माणको लागि हालै विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ ।

प्रकाशित मिति: Apr 30, 2019

प्रतिक्रिया दिनुहोस्